काठमाडौं । कोभिड–१९ (Covid-19) पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक (Chinese Tourist) विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्स (Himalaya Airlines)को विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए । आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार्टर उडानबाट चिनियाँ आउनेछन् ।
हरेक हप्ता १ दिन चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल ल्याउने नेपाल बिग माउन्टेन (एनबीएम) ट्राभल कम्पनीले जानकारी दिएको हो । हरेक उडानमा १८० जना हुनेछन् । सन् २०२३ को मार्च १५ देखि चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई राखेसँगै त्यहाँबाट आउने पर्यटक बढेका हुन् ।
चीन सरकार (Chinese Government)ले आधिकारिक सूचना जारी नगरे पनि त्यहाँबाट नेपालमा पर्यटक (Tourist) आइरहेका छन् । तर, चीन सरकारको उक्त निर्णयपछि विमान नै चार्टर गरेर (Chartered Flight) उनीहरू आउन थालेका हुन् ।
एनबीएमका अध्यक्ष सुदर्शन नेपालले चीन सरकारले नेपाललाई घुम्न पर्ने देशको सूचीमा राखेको छोटो अवधिमै पर्यटक ल्याउन सकिएको बताए । ‘हामीले चार्टर उडानबाट पर्यटक ल्याउन शुरू गरिसकेका छौं,’ नेपालले भने, ‘अझै चिनियाँ पर्यटक नेपाल आउने पर्खाइमा छन् ।’
नेपाल एयरलाइन्सले चीनमा उडान गरे धेरै पर्यटक ल्याउन सकिने उनको भनाइ छ । अहिले आएका पर्यटक ८ दिन नेपालमा बस्ने उनको भनाइ छ । ‘उनीहरू काठमाडौं, पोखरा, पुनहिल तथा छोटो दूरीका हाइकिङ रुटमा जानेछन्,’ उनले भने ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (TIA)मा अवतरण गरेको उक्त समूहलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले स्वागत गरेका थिए । चिनियाँ पर्यटकलाई विमानस्थलमै खादा मालासहित पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो ।
उक्त अवसरमा मन्त्री किरातीले चीन नेपालको प्रमुख पर्यटन स्रोत बजार रहेको बताए । रेग्मीले कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फर्किन थालेको भन्दै चिनियाँ पर्यटक आगमनले नेपालको पर्यटन क्षेत्र थप चलायमान हुने उल्लेख गरे । नेपाल–चीन सीमा नाका रसुवा र तातोपानीबाट आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन पनि आग्रह गरिएको छ ।