वैशाख १३, काठमाडौं । नेपालमा ९५औं फोटो पत्रकारिता दिवस मंगलवार देशभर मनाइँदैछ ।
देशैभरका फोटो पत्रकारहरूले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइरहेका छन् । विसं १९८४ वैशाख १३ मा पहिलोपटक समाचारको रूपमा गोरखापत्रमा फोटो प्रकाशन भएको थियो ।
आजभन्दा ९५ वर्षपहिले वीरगञ्जकी एक महिला चारुपमती श्रेष्ठले चर्खामा धागो काट्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको थियो । समाचारको रूपमा पहिलो फोटो प्रकाशन भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा आजको दिनलाई मनाउँदै आएका छन् ।
यसै क्रममा राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपदेखि बसन्तपुर दरबार क्षेत्रसम्म प्रभातफेरी गरेको थियो । यस्तै सोही समूहले वसन्तपुर दरबार क्षेत्रमा कोभिड–१९ का बेला खिचिएका तस्वीरहरूलाई ‘नेपाल इन लकडाउन’ नामकरण गरी फोटो प्रदर्शनी पनि आयोजना गरिएको छ साथै फोटो पत्रकार क्लब (पीजे) ले फोटोपत्रकारहरुको लेन्समा फोटो पत्रकारिता नामक फोटो प्रदर्शनीको आयोजना गरेको छ ।
समूहको प्रदर्शनी कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्ष विकास रौनियार, मीन रत्न बज्राचार्य, राजभाइ सुवाल, कविन्द्रमान शाक्य, र राजेन्द्र चित्रकार तथा वर्तमान अध्यक्ष प्रदीपराज वन्तको उपस्थिति रहेको थियो ।
सम्बोधनका क्रममा उनीहरुले फोटो पत्रकारले भोग्दै आएका चुनौती र समस्याका तथा अहिलेको बदलिदो परिवेशमा फोटो पत्रकारको भुमिका बारे बताएका थिए । सोही फोटो प्रदर्शनीमा नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएकी सिर्जना सिंहले आफू विजयी भए फोटो पत्रकारहरुको सम्बर्द्धन र विकासका लागि आफूले सक्ने सहयोग गर्ने तथा हक हितका लागि आवश्यक सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएकी छिन् ।
तस्वीरहरु : सुनिल शर्मा/ आर्थिक अभियान