‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी पूरा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी पूरा भएको जानकारी दिएको छ । मङ्सिर १४ मा शुरू हुने मेला १८ गतेसम्म सञ्चालन हुने बताइएको छ । आयोजकका अनुसार उक्त मेलाका लागि अधिकांश स्टल बुकिङ भइसकेका छन् । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशको सहभागिता रहनेछ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल’ पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० ओटा स्टलसहितको पेभेलियन रहने बताइएको छ । मेलामा चीनका ५५, भारतका ३०, बंगलादेश र पाकिस्तानका ८/८ स्टल रहनेछन् । २१० स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने आयोजकको भनाइ छ । नेपाल अन्तरराष्ट्रिय व्यापार मेला नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको आयोजकको भनाइ छ । मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास आयोजकको छ । सो अवसरमा चीनको गान्छु प्रदेशका १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच छलफल एवं बिजनेश म्याचमेकिङ कार्यक्रम समेत राखिने बताइएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडीबुटी, औषधि, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ ।