मल, बीउ, कृषि औजार उपलब्ध गराउन किसानलाई परिचयपत्र

एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो । किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्था हो । किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसान परिचयपत्र वितरण शुरु गरिएको सेन्टरका अध्यक्ष चन्द्रप्रसाद बस्नेतले बताए । उनका अनुसार सेन्ट

सम्बन्धित सामग्री

कृषिक्षेत्रमा संरचनागत सुधारको आवश्यकता : चक्लाबन्दी आधुनिकीकरणको पहिलो पाइला

विगतमा नेपालीहरूको जीविकोपार्जनको माध्यम खेतीपातीमा आधारित थियो । त्यसताका यो पेशा प्रेरक र उत्साहजनक पनि थियो । कृषिक्षेत्रबाट प्राप्त आम्दानीमा हुने वृद्धिले परिवारहरूको जीविकोपार्जन भइरहेको थियो । यसले मानिसहरूलाई रोजगार प्रदान गरिरहेको थियो । समयको अन्तरालमा कृषिक्षेत्रको आम्दानीमा आश्रित मानिसहरूको संख्यामा वृद्धि हुन लाग्यो । खेतीपातीको लागि योग्य जमीन साँघुरिँदै गयो र यो आज पनि साँघुरिँदै गएको छ ।  विद्यमान कृषि भूमिले मानिसहरूको जीविकोपार्जन हुन छाड्यो । फलस्वरूप बाँझो, सीमान्त भूमिका साथै जंगल रहेको भूमिमा अतिक्रमण भयो । सीमान्त भूमिमा पनि बस्तीहरूको विस्तार हुन पुग्यो । यसका साथै विविध कारणले कृषिक्षेत्रको प्रतिफलमा ह्रास हुन लाग्यो । अर्थात् कृषिक्षेत्रमा लगाइएको लगानीको तुलनामा यसबाट प्राप्त हुने प्रतिफल कम हुन थाल्यो जुन आज पनि भइरहेछ । यसले कृषिक्षेत्रमा आश्रित ग्रामीण मानिसहरूको जीविकोपार्जनमा समस्या उत्पन्न भयो । उत्पादन र उत्पादकत्व दुवैमा ह्रास भयो । फलस्वरूप यो क्षेत्रले आफ्नो गौरव गुमाउँदै गयो ।  समयको अन्तरालसँगै कृषि पेशाले मानिसहरूको जीवन निर्वाह हुन सकेन । यो पेशामा आश्रित किसानहरूमा वितृष्णा पैदा हुन लाग्यो । किसानहरू जीवन निर्वाहको लागि विकल्पको खोजीमा लागे र आज पनि यसको खोजीमा लागिरहेका छन् । जीविकोपार्जनका लागि युवायुवती विदेशिन बाध्य भए । यसबाहेक युवायुवती विदेशिनुबाहेक अन्य धेरै कारण हुन सक्छन् । खेतीपातीमा काम गर्ने मानिसहरूको अभाव हुन लाग्यो र यो क्रम वर्तमानमा पनि जारी छ । विगतमा खेतीपातीका लागि योग्य भूमि पनि बाँझिन पुगेका छन् । विशेष गरेर यो क्रम पहाडी जिल्लाका गाउँबस्तीहरूमा व्यापक रूपले विस्तार भएको छ ।  गाउँबस्तीमा रहने मानिसको जीवन निर्वाह विगत केही दशकदेखि विप्रेषणबाट हुने गरेको छ । यसले पनि कृषिभूमि बाँझो राख्नमा मदत पुर्‍याएको छ । फलस्वरूप ग्रामीण बस्तीहरूमा पनि खाद्यान्न अभाव हुन थालेको छ । खाद्यान्नको आपूर्ति आयातबाट हुन्छ । यसको खरीदका लागि विप्रेषणले टेवा दिएको छ । खाद्यान्नको मागअनुसार आपूर्ति आयातबाट हुन्छ, जुन किसानहरूको आफ्नै आँगनमा फलाउन वा उत्पादन गर्न सक्छन् र कतिपयले गरिरहेका पनि छन् ।  तर, नेपालको कृषि परम्परागत खेतीमा आधारित छ । कृषिक्षेत्रमा आधुनिक तरीका अपनाउन धेरै पूर्वाधारहरूको आवश्यकता पर्छ । बैंकिङ सुविधा, सिँचाइको व्यवस्थाको लागि बिजुलीको उपलब्धता, यातायातको सुविधा, आधुनिक मलखाद, बीउबिजन र औजार आदिको आवश्यकता पर्छ । यी सबै पूर्वाधारको उपलब्धताले केही वा खेतीपातीका लागि आवश्यकताअनुसार युवायुवती पुन: यस क्षेत्रमा प्रवेश गर्ने छन्, यसमा कुनै शंका छैन । यी युवायुवतीको सक्रियताले कृषिक्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि गराउँछ । तर, यसका लागि अहिलेको विद्यमान संरचनामा सुधारको आवश्यकता पर्छ । माथि उल्लेख गरिएका आधुनिक तरीकाहरूको प्रयोगका लागि टुक्रिएको जग्गालाई चक्लाबन्दीको आवश्यकता पर्छ । आजभोलि यसरी चक्लाबन्दी भएको कृषिभूमि पाउन सकिँदैन । भएको पनि पारिवारको अंशबन्डाको कारणले टुक्राटुक्रामा उपविभाजन हुन पुगेको छ । यसरी टुक्राटुक्रामा विभाजित कृषिभूमिमा सबै प्रकारका भौतिक वा आधुनिक सुविधा पुर्‍याउन कठिन पर्छ । यसका लागि खेतीयोग्य भूमिको चक्लाबन्दी गराउन आवश्यक पर्छ । कृषिभूमि चक्लाबन्दी भएको अवस्थामा उल्लिखित सुविधा र पूर्वाधारहरू उपलब्ध गराउन सहज र सरल हुन्छ । अर्थात् चक्लाबन्दी भएको कृषिभूमिमा आधुनिक प्रविधिको प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । हाल विद्यमान कृषिभूमिमा उत्पादन र उत्पादकत्व बढाउन प्रयत्न भएका छन् । तर, ती प्रयत्नको कार्यान्वयनमा कहीँ न कहीँ त्रुटि भएका हुन सक्छन् । फलस्वरूप यी प्रयत्नहरूले कृषिक्षेत्रलाई आकर्षक बनाउन सकेका छैनन् । टुक्रिएको कृषिभूमिमा उत्पादन र उत्पादकत्व बढाउन माइक्रो फाइनान्सको व्यवस्था गरिएको छ । अन्य पूर्वाधारको अभावमा वित्तीय स्रोतको उपलब्धताले मात्र कृषि उत्पादनमा वृद्धि गराउन कठिन पर्छ । त्यसैले हुन सक्छ यसले नेपालमा ख्यातिप्राप्त कार्य गर्न सकेको देखिँदैन जसको कार्यान्न्वयन बंगलादेशमा सफलतापूर्वक भइरहेको छ । एउटा उत्कृष्ट नमूना जमीन चक्लाबन्दीका लागि लामो अवधिको लागि जग्गा अमानत (लिज) मा लिन सकिन्छ । यसरी प्राप्त गरेको जमीनमा व्यवसायीले आधुनिक तबरबाट खेतीपाती गर्न सक्छ । यो प्रक्रियाले बाँझिएर रहेको टुक्रिएको खेतीयोग्य जमीनलाई एकातिर चक्लाबन्दी बनाउँछ भने अर्कोतिर आधुनिक खेती प्रणालीको विस्तार हुन्छ ।  खेती गर्ने तरीका र जग्गाजमीनको वितरणका बारेमा गहिरिएर सोच्ने र मनन गर्ने बेला भएको छ । टुक्राटुक्रामा उपविभाजित जमीनका टुक्राहरू आज सबै बाँझिन पुगेका छन् । यदि बाँझिएका छैनन् भने पनि तिनीहरू परम्परागत खेती प्रणालीमा आधारित छन् । बाँझिएका टुक्राटुक्रामा विभाजित जमीनलाई उपयोगमा ल्याई आधुनिक खेती प्रणालीको विस्तारले कृषिक्षेत्रको विकास भई उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ । यसो गर्नाले खाद्यान्न आपूर्तिमा वृद्धि गराउन सकिन्छ । यो कदमले नेपाल खाद्यान्न आपूर्तिमा आत्मनिर्भर बन्न सक्छ । यसका लागि गहन चिन्तन, मनन र पारदर्शिताको आवश्यकता पर्छ । माथि उल्लेख भएअनुसार टुक्रा र उपटुक्रामा विभाजित खेतीयोग्य जमीनको उपयोगले कृषिक्षेत्रलाई आकर्षित गराउन सकिँदैन । यस क्षेत्रलाई आकर्षक बनाउन सघन खेतीप्रणालीको विकास गर्नुपर्छ । सघन खेतीप्रणालीको विकासका लागि सामुदायिक कृषिप्रणालीको विकास गर्नुपर्छ । यसलाई कसरी कार्यान्वयनमा ल्याउने भन्नेबारेमा चिन्तन, मन्थन र मननको आवश्यकता पर्छ । धेरै तरीकामध्ये एउटा उत्कृष्ट नमूना जमीन चक्लाबन्दीका लागि लामो अवधिका लागि जग्गा अमानत (लिज) मा लिन सकिन्छ । लिजमा जग्गा लिने व्यक्ति वा समूह वा संगठित संस्था कोही पनि हुन सक्छ । यसरी प्राप्त गरेको जमीनमा व्यवसायीले आधुनिक तवरबाट खेतीपाती गर्न सक्छ । यो प्रक्रियाले बाँझिएर रहेको टुक्रिएको खेतीयोग्य जमीनलाई एकातिर चक्लाबन्दी बनाउँछ भने अर्कोतिर आधुनिक खेतीप्रणालीको विस्तार हुन्छ । विभिन्न व्यक्तिको स्वामित्वमा रहेको खेतीयोग्य जमीन लिजमा लिने व्यक्ति वा समुदायले वार्षिक रूपमा तोकिएको मूल्य वा भाडा उनीहरूलाई बुझाउनुपर्छ । यो प्रक्रियाले टुक्राटुक्रामा उपविभाजित भूमि चक्लाबन्दीमा रूपान्तरित हुन्छ । जस्मा ठूलो परिमाणमा (लार्ज स्केल) खेतीपाती गर्न मदत गर्छ । ठूलो परिमाणमा गरिएको खेतीपातीले खाद्यान्न उत्पादन र उत्पादकत्वमा वृद्धि गराउँछ । यसले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन मदत गर्छ । गाउँबस्तीका बासिन्दाहरूले आफ्नै खेतबारीमा फलेको उपज फार्म मूल्यमा प्राप्त गर्न सक्छन् । उनीहरूले आफ्नै आँगनमा फलेको उत्पादित वस्तुको उपभोग गर्न पाउँछन् । गाउँबस्तीका किसानहरूले मौसमी वा स्थायी रूपले रोजगार प्राप्त गर्छन् । यसले गाउँगाउँमा नै खाद्य सुरक्षा हुन्छ । यो खेती प्रणालीले कृषिक्षेत्रको दिगो विकास गराउँछ ।  यो खेती प्रणालीलाई कार्यान्वयनमा लैजान यससँग सम्बद्ध समस्याहरूको समाधानका उपायको सम्बोधन गर्न आवश्यक हुन्छ । यसको कार्यान्वयनका लागि सरकारले आत्मविश्वासका साथ दरिलो कदम चाल्नुपर्छ । उत्पादकलाई कानूनी, प्राविधिक र वित्तीय सहयोगको आवश्यकता पर्छ । यो सहयोग सरकारका निकायहरूले गर्नुपर्छ । विभिन्न व्यक्तिको स्वामित्वमा रहेको टुक्रा र उपटुक्राहरूमा विभाजित भूमिको चक्लाबन्दीका लागि उत्पादकलाई शुरूमा गहकिलो रकमको आवश्यकता पर्छ । जग्गाजमीन लिजमा लिन किसानहरूलाई कम्तीमा १ वर्षको रकम भुक्तानी गर्नुपर्छ । यसका अतिरिक्त स्थायी तवरका संरचनाहरूको निर्माण गर्नुपर्छ । कृषि औजार खरीद गर्नुपर्छ । प्राविधिक जनशक्तिका साथै अन्य श्रमिकहरूको आवश्यकता पर्छ । त्यस्तैगरेर सुरक्षाको पनि आवश्यकता पर्छ । यी सबै पूर्वाधारको परिपूर्तिका लागि सरकारले शुरूका दिनहरूमा अहम् भूमिका निर्वाह गर्न सक्नुपर्छ । यदि यस प्रकारको सुधार कृषिक्षेत्रमा नगर्ने हो भने खेतीयोग्य जमीन एकातिर बाँझिँदै जान्छ भने अर्कोतिर निकट भविष्यमा नेपालले खाद्यान्न संकटको भयावह परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । लेखक अर्थशास्त्री हुन् ।

कृषिको विकासका लागि प्रविधि र उपकरण

नेपालमा पछिल्लो समय कृषिमा व्यावसायिकता शुरू हुन थालेको छ जसको श्रेय थोरबहुत वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई जान्छ । विदेशमा सिकेका शीप र स्वदेशको श्रमले नेपालको कृषिमा केही मात्रामा रूपान्तरण हुन थालेको छ । खासगरी इजरायलको खेतीपाती प्रणालीले नेपालीलाई आकर्षित गरेको छ ।  विश्वमै इजरायलको खेती प्रणाली उच्च प्रविधियुक्त मानिन्छ । कुल जनसंख्याको २ प्रतिशत जनता कृषिमा लागेका छन् र त्यहाँ उत्पादित ९० प्रतिशत कृषि उपज निर्यात हुन्छ । पानीको कमी भए पनि उच्च प्रविधिका कारण यो सम्भव भएको हो । त्यहाँ काम गर्न पुगेका नेपालीले अहिले त्यहाँको कृषि प्रणाली नेपालमा भित्त्याएका छन् । प्रणालीमात्र होइन, कृषियन्त्र र आवश्यक अन्य वस्तुको समेत उत्पादन र विक्री हुन थालेको छ । इजरायलीले प्रविधिको भरपुर उपयोग गरेर कृषिक्षेत्रमा कमभन्दा कम जनसंख्या संलग्न गराई कम लागतमा राम्रो उत्पादन गर्न सकेको कुरा सिकेर नेपालमा यस्तै प्रविधि भित्त्याउने व्यक्तिमध्ये एक हुन् खोजराज कटुवाल । नेपाली कृषि कामदार सहयोगी समिति इजरायल गठन गरी विदेशको शीप स्वदेशमा लगानी अभियान सञ्चालन गरियो ।  त्यही अभियान बोकेर नेपाल आएका कटुवालले एनटीएस इन्डस्ट्रिज नामक कृषि कम्पनी खोलेर विभिन्न कृषि उपकरण उत्पादनको काम गरिरहेका छन् । उनको कम्पनीले ग्रिन हाउस टेक्नोलजी, मल्चिङ प्लास्टिक, पोलिब्याग, थोपा सिँचाइ र कौसीखेतीका लागि आवश्यक सामग्री उत्पादन गरिरहेको छ । नेपालको कृषिलाई आधुनिकीकरण गर्न र व्यावसायिक बनाउन यस्ता सामान निकै उपयोगी हुने देखिन्छ । प्रविधिको प्रयोग हुन थालेपछि विदेश गएका युवाहरू कृषितर्फ आकर्षित भएको पाइन्छ । नेपालका थेरै ठाउँमा व्यावसायिक पशुपालन, खेती र मत्स्यपालनजस्ता कार्यमा वैदेशिक रोजगारीबाट फर्केका युवाको संलग्नता बढ्दो छ । यो नेपालको कृषिका लागि उत्साहको खबर हो ।  कृषिमा युवाहरू आकर्षित हुन नसक्नुको कारण पनि प्रविधिको उपयोग नहुनु हो । त्यसैले कृषिमा प्रविधिको भरपुर उपयोग हुन आवश्यक छ । माटो परीक्षण, मौसम भविष्यवाणी, कृषिबजार जस्ता पक्षमा सूचनाप्रविधिको प्रयोग बढाउनु पहिलो र महत्त्वपूर्ण कार्य हुने देखिन्छ । अहिले धेरैको हातमा स्मार्टफोन पुगिसकेको र त्यसमा इन्टरनेट चलाउनेको संख्या निकै बढेकाले त्यसको उपयोग कृषि कार्यमा गराउन आवश्यक देखिन्छ । यसका लागि सरकारले विभिन्न एपहरू बनाउने र त्यसको अद्यावधिक गरी पर्याप्त जानकारी र तथ्यांक समावेश गर्दै जानुपर्छ । यसो भयो भने कुन मौसममा कुन खेती गर्ने, कस्तो माटोमा के खेती हुन्छ, आफ्नो फसल बजारमा पुग्दा आपूर्तिको अवस्था कस्तो हुन्छ भन्ने जानकारी पाए कृषि पेशामा आकर्षण गर्न सकिन्छ । अहिलेजस्तो कुनै समयमा उच्च मूल्य पाइने र कुनै समय आफ्नो फसल फाल्नुपर्ने अवस्था आउँदैन । त्यसैले सूचना प्रविधिको उपयोग व्यापक बनाउनु आवश्यक देखिन्छ ।  अर्को भनेको कृषि उपकरण हो । तर, नेपालमा विदेशी सहयोगमा बनेको कृषि औजार कारखाना ३० वर्षदेखि बन्द छ । यसको पुन:सञ्चालनको जिम्मा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिइए पनि सरकारले पर्याप्त बजेट उपलब्ध गराउन सक्दा बिग्रेका मेशिन मर्मत गरेर केही पुराना कृषि उपकरण निर्माण गर्नभन्दा बढी सफलता प्राप्त भएको छैन । यसबाट बन्ने उपकरणले अहिलेको आवश्यकतालाई पूरा गर्ने देखिँदैन तर पहाडी बनोटका लागि उपयुक्त कृषि औजार बनाउनेतर्फ केन्द्रले महत्त्वपूर्ण काम गर्न सक्छ । त्यसका लागि अनुसन्धान गर्न र औजार निर्माण गर्न सरकारले पर्याप्त सहयोग उपलब्ध गराउनुपर्छ ।  सस्तो र उपयोगी कृषि उपकरण अहिलेको आवश्यकता हो । नेपालमा कृषि जग्गा खण्डीकरण भएकाले ठूला उपकरणको काम छैन । एउटा व्यक्तिले सञ्चालन गर्न सक्ने खनजोत, बीउ छर्ने, गोड्ने, फसल भित्त्याउने उपकरण अहिलेको आवश्यकता हो । त्यस्ता उपकरण सके नेपालमै निर्माण गर्नुपर्छ, नसके विदेशबाट भए पनि आयात गर्नुपर्छ । यस्तो मेशिन आयातमा सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ । अहिले कृषि उपकरणमा अनुदानको व्यवस्था नभएको होइन । त्यसलाई थप सहज बनाइनु पनि उत्तिकै आवश्यक छ ।  कृषि उपकरण विक्रीमात्र होइन, त्यसको प्रयोग गर्न आवश्यक तालीम र सचेतना पनि उत्तिकै आवश्यक पर्छ । त्यस्तै कृषि उपकरण खरीदमा सस्तो ब्याजदरको कर्जा पनि उपलब्ध गराइनुपर्छ । अहिले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई कृषिमा कर्जा लगानी गर्न अनिवार्य गरेको छ र त्यसमा ब्याजअनुदानसमेत उपलब्ध गराएको छ जसका कारण किसानहरूले सस्तोमा कर्जा लिन पाइरहेका छन् । तर, यस्तो कर्जा पनि टाठाबाठाले मात्र पाएको र त्यो कर्जा कृषि क्षेत्रमा नभएर अन्यत्र प्रयोग भएको समेत पाइन्छ । कृषियन्त्र बेच्ने संस्थामा गएपछि त्यहीँबाट कर्जाका प्रक्रिया पूरा गर्न मिल्ने र सहुलियत ब्याजदरमा कर्जा लिन पाउने व्यवस्था गर्न सकिन्छ । अहिले गाडी किन्नका लागि हायर पर्चेजको काम गर्ने संस्थाहरूले गाडी शोरूमसँग मिलेर कर्जा उपलब्ध गराइरहेका छन् । कृषि उपकरणका लागि यस्तै व्यवस्था गरिनु आवश्यक छ ।  परम्परागत कृषि प्रणालीबाट अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न । साथै, त्यसबाट लाभ लिन पनि सकिँदैन । त्यसैले कृषिमा साना यन्त्रको प्रयोग बढाएर यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नेतर्फ अभियान नै चलाउन आवश्यक देखिन्छ ।

कृषिमा साना उपकरण

राष्ट्रिय कृषि गणना २०७८ ले नेपालमा कृषिका लागि मेशिनको प्रयोग बढेको देखाएको छ । कृषि कार्यमा ट्र्याक्टरको प्रयोग गर्ने किसानको संख्या १० वर्षमा दोब्बर बढेर ४० प्रतिशत पुग्नु भनेको सकारात्मक संकेत हो । तर, उपकरणहरूको प्रयोग बढे पनि त्यसको अनुपातमा कृषि उत्पादन भने बढ्न सकेको छैन । त्यसैले उत्पादकत्व बढाउन सहयोग पुग्ने खालको उपकरणको प्रयोग बढाउने आवश्यकता एकातिर देखिएको छ भने अर्कातिर बीउ, मल र सिँचाइको समस्या पनि समाधान हुनुपर्ने देखिएको छ । कृषिलाई दु:खको पेशा मानिन्छ । खनजोत, गोडमेल, बाली भित्त्याउने लगायत सबै काममा शारीरिक श्रम गर्नुपर्छ । हिलोमैलोसँग जुधेर मात्रै खेतीपाती गर्न सकिन्छ । यसरी गरिएको उत्पादनले उचित बजार र मूल्य नपाउने समस्या छँदै छ, त्यसमाथि विभिन्न कारणले उत्पादन नै भित्त्याउन नपाइने जोखिमसमेत रहेको छ । त्यसो हुँदा सकेसम्म कृषि पेशा अपनाउन नपरोस् भन्ने सोच आममानिसमा पाइन्छ । यो प्रवृत्ति र मनोवृत्तिमा परिवर्तन ल्याउने काम मेशिनहरूको प्रयोगले गर्छ । जति धेरै काममा मेशिन प्रयोग हुन्छ, त्यति नै शारीरिक दु:ख कम गर्नुपर्छ, त्यति नै साफसुग्घर भएर पेशा अपनाउन सकिन्छ । त्यसैले कृषिमा मेशिनको प्रयोग बढाउन आवश्यक छ । अझ नेपालजस्तो मुलुकका लागि कृषिका साना उपकरणको झनै आवश्यकता देखिन्छ । पहाडका सानासाना गरामा प्रयोग गर्न सकिने उपकरणको सहजता हुने हो भने युवालाई कृषिक्षेत्रमा आकर्षित गर्न सकिन्छ ।  नेपालबाट आधुनिक खेतीपाती सिक्न विदेश गएका युवा तथा विदेशमा काम गरेर फर्केका युवाले त्यहाँको जस्तो उपकरण नपाएपछि पुन: विदेशिएको पाइन्छ । मेशिनको प्रयोगको वृद्धिदर हेर्दा सन्तोषजनक देखिन्छ । कृषि गणनाअनुसार २०६८ मा किसान परिवारसँग ३७ हजार थान ट्र्याक्टर भएकामा २०७८ मा ५८ हजार पुगेको छ । दश वर्षको अवधिमा पावर ट्रिलर/मिनी ट्रिलर प्रयोग गर्ने किसानको संख्या ७६ हजारबाट बढेर ४ लाख ७१ हजार पुगेको पाइन्छ । पावर ट्रिलर/मिनी ट्रिलरको संख्या पनि १० हजारबाट बढेर १ लाख १८ हजार पुगेको छ । थ्रेसर तथा बाली झाँट्ने औजारको प्रयोग गर्ने किसान परिवारको संख्या पनि ८ लाख ३ हजारबाट बढेर ११ लाख ७५ हजार पुगेको छ । परम्परागत हलोको प्रयोग गर्ने किसानको संख्या भने १० लाख ७३ हजारबाट घटेर ७ लाख ३ हजारमा सीमित हुन पुगेको छ । यसरी कृषि कार्यमा मेशिनको प्रयोग बढेको छ । तर, यो अपर्याप्त छ । नेपालको खेती गरिने जग्गा, खेतीमा संलग्न जनशक्तिको अवस्था आदि हेर्दा साना खालका उपकरणहरूको व्यापक प्रयोग आवश्यक देखिन्छ । माटो खन्नेदेखि अन्नबाली भित्त्याउनेसम्ममा यस्ता मेशिनको प्रयोग बढाउन आवश्यक छ । सरकारले कृषि उपकरण खरीदका लागि अनुदान दिएकाले पनि यसको प्रयोग बढेको हो किनभने अनुदानका कारण यस्ता उपकरणको मूल्य कम पर्छ । नेपालबाट आधुनिक खेतीपाती सिक्न विदेश गएका युवा तथा विदेशमा काम गरेर फर्केका युवाले त्यहाँको जस्तो उपकरण नपाएपछि पुन: विदेशिएको पाइन्छ । विदेशमा जानेको शीप र अनुभव प्रयोग गर्न नपाउनु भनेको विडम्बना नै हो । त्यसैले यस्तो उपकरणको विकास र प्रयोगमा सरकारको ध्यान जानु आवश्यक छ । नेपालमा मेशिनको प्रयोग बढ्नु सकारात्मक भए पनि तिनको निर्माण नेपालमा नहुने भएकाले यसका लागि ठूलो धनराशि बाहिरिने गरेको छ । नेपालमा रहेको कृषि औजार कारखाना लामो समयदेखि बन्द छ । यसको सञ्चालनका लागि सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मेवारी दिए पनि आवश्यक विद्युत् उपलब्ध गराउन नसक्दा कारखाना सञ्चालनमा आउन सकेको छैन । यद्यपि यस कारखानाबाट उत्पादन हुने सामानहरू पुराना जमानाका भएकाले त्यसमा सुधारको आवश्यकता छ ।  नेपालको कृषिक्षेत्रको अर्को समस्या समयमा मल उपलब्ध नहुनु हो । यसका लागि सरकारले योजना बनाएर काम गर्नुपर्छ । कुन किसानलाई कति मल चाहिन्छ भन्ने विवरण सरकारसँग हुने र सोहीअनुसार वितरणको व्यवस्था मिलाउने हो भने यसमा रोइकराई गर्नुपर्ने कुनै कारण छैन । तर, अहिलेसम्मका सरकारलाई यत्ति काम गर्न पनि चासो छैन । सरकारले खेतीको याममा आवश्यक मल आपूर्ति गर्न नसकेर आफ्नो कमजोर क्षमता प्रदर्शन गरिरहेको छ । त्यसैले नेपालको आवश्यकताअनुसारका कृषि औजार निर्माणमा आवश्यक अनुसन्धान र विकासका लागि लगानी गर्ने तथा इमानदार भएर काम गर्ने हो भने कृषि पेशा गर्विलो बन्नेमा दुईमत छैन ।

आत्मनिर्भर हुन लागेका वस्तुको आयात रोक्न सुझाव

राष्ट्रिय किसान आयोगले आत्मनिर्भर हुन लागेका वस्तुको आयातमा रोक लगाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । आयोगले केही दिनदेखि कृषि क्षेत्रका विभिन्न सरोकारावालासँग गरेको अन्तक्र्रियापछि सरकारलाई दिएको २६ बुँदे सुझावमा सो कुरा उल्लेख गरिएको छ । आत्मभनिर्भर भएका कृषि वस्तुमा आयात रोकिनुपर्ने र वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाइनुपर्ने उल्लेख छ । अन्तक्र्रियापछि आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा मल, बीउ, सिँचाइ, भण्डारणलगायतका कृषि कार्यमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशत अनुदानको व्यवस्था गरिनुपर्ने, कृषि क्षेत्रमा लगानी वृद्धि गर्न २ प्रतिशत ब्याजमा ऋण प्रदान गरिनुपर्ने सुझाव छ । कृषि औजार र साधनमा पूर्ण रूपमा भन्सार छुटको व्यवस्था गरिनुपर्ने, गरिब तथा श्रमजीवी किसानलाई रासन कार्डको व्यवस्था गरी दैनिक उपभोग्य वस्तुको उपलब्धता गराइनुपर्ने र कृषिको योगदानअनुसार बजेट विनियोजन गरिनुपर्ने पनि आयोगले सुझाएको छ । दुग्ध उत्पादन किसान, व्यवसायी र दुग्ध उद्योगहरूलाई सहुलियत कर्जा उपलब्ध गराउन सरकारसँग आयोगले अपिल गरेको छ ।

मल, बीउ, कृषि औजार उपलब्ध गराउन किसानलाई परिचयपत्र

एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो । किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्...