वीरगञ्ज (अस) । एक समय निकासी व्यापारमा छाला उद्योगले राम्रै ठाउँ बनाएको थियो । छाला दशकअघिसम्म निकासी हुने वस्तुको मुख्य सूचीमा पर्दथ्यो ।
उत्कृष्ट निकासीकर्ताको सम्मान पाउनेमा पनि छाला उद्योग अग्रस्थानमा थिए । विगतमा वीरगञ्ज उद्योग वाणिज्य संघबाट उत्कृष्ट निकासीकर्ताका रूपमा सम्मान पाएको बारा–पर्सा औद्योगिक कोरिडोरको नारायणी लेदर म्यानुप्mयाक्चरिङ उद्योगको व्यवस्थापनलाई अहिले उद्योग धान्नु नै चुनौतीपूर्ण काम बनेको छ ।
नारायणी लेदरको यो समस्या स्वदेशका १३ ओटा छाला उद्योगकै लागि साझा समस्या हो । छाला उद्योग समस्याग्रस्त बनेको नारायणी लेदरका प्रबन्ध सञ्चालक मनोज चाचान बताउँछन् । नेपालमा उत्पादित छालाको मुख्य बजार भारत हो । केही उद्योगले तेस्रो मुलुकतर्फ पनि निकासी गर्दै आएका थिए । भारतमा उत्पादित छालासँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिन बन्दै गएपछि निकासी खुम्चिएको छ ।
नेपाल लेदर टेनर्स एशोसिएशनका महासचिव मोहम्मद जुनैद इफ्तखारका अनुसार बितेको ५ वर्षमा छालाको निकासी २० प्रतिशतमा झरेको छ । ‘आर्थिक वर्ष (आव) २०७३/७४ मा ७५ करोड रुपैयाँबराबरको छाला निकासी भएको थियो । बितेको आव २०७७/७८ मा यो १५ करोड रुपैयाँमा झरिसकेको छ,’ नेपाल लेदर इन्डस्ट्रिजका प्रबन्ध सञ्चालकसमेत रहेका इफ्तखारले बताए ।
कोरोना महामारीका कारण उद्योग व्यापार ठप्प हुँदा आव २०७६/७७ मा ११ करोड रुपैयाँको मात्र छाला निर्यात भएको एशोसिएशनले बताएको छ ।
सरकारले कच्चा पदार्थको आयातमा लिएको उच्च दरको भन्सार महसुल र मूल्यअभिवृद्धि करको भारले उत्पादन प्रतिस्पर्धी हुन नसकेको उद्योगीहरूको भनाइ छ । कच्चा पदार्थको आयातमा सरकारले उच्च तहको राजस्व लिनु र निकासी प्रोत्साहनका लागि सरकारले लिएका नीति झन्झटिलो भएकाले स्वदेशी उद्योग समस्यामा परेको चाचानले बताए ।
छाला उद्योगलाई निकासीमा ५ प्रतिशतसम्म नगद प्रोत्साहन दिने सरकारी नीति छ । कार्यान्वयन अत्यन्तै झन्झटिलो बनाइएको उद्योगीहरूको गुनासो छ । सबै खालका कच्चा पदार्थको आयातमा भन्सार र मूल्यअभिवृद्धि कर शून्य गरिनुपर्ने माग उद्यमीको छ ।
स्वदेशमा छालाको अपूर्ति कम भएकाले आयातमा सहुलियत पाएमा बाहिरबाट कच्चा पदार्थ ल्याएर पनि तयारी छाला निकासी गर्न सकिने इफ्तखारको दाबी छ ।
उता भारतले आफ्ना उद्योगको संरक्षणका लागि काँचो छाला र सहायक कच्चा पदार्थको आयातमा सीमा शुल्क शून्य गरेको छ ।
स्वदेशी उत्पादकले मुख्य कच्चा पदार्थ काँचो छाला स्वदेशबाटै किन्छन् । सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने रसायनमा ५ देखि २२ प्रतिशतसम्म भन्सार महसुल बुझाउनुपर्छ । त्यसमा १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट) तिर्नुपर्छ ।
सरकारले छाला निकासी भएपछि कच्चा पदार्थका तिरेको भ्याट फिर्ता दिने भने पनि त्यसको कार्यान्वयन अत्यन्तै झन्झटपूर्ण रहेको उद्यमीले बताएका छन् । भ्याट फिर्ता दिने नीति भए पनि अहिलेसम्म फिर्ता नपाएको र यस्तो रकम उत्पादनमा अतिरिक्त भार बनेको महासचिव इफ्तखार बताउँछन् ।
स्वदेशी बजारमा उत्पादन बेच्ने उद्योगले भ्याट मिलान गरे पनि निकासीमा आधारित उद्योगले यो सहुलियत उपयोग गर्न पाएका छैनन् । भारतमा उत्पादित छाला ३५ प्रतिशतसम्म सस्तो भएकाले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको उद्यमी बताउँछन् ।