सर्वोत्तम सिमेण्टको विशेष साधारण सभाले पारित गर्‍यो २०% लाभांश

असार ११, काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले असार १० गते विशेष साधारण सभा सम्पन्न गरी प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ ।  हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ४० करोडको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर बापत १ दशमलव ००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव कम्पनीले सभामार्फत पारित गरेको हो ।  कम्पनीले चुक्तापूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरुको बीचको पूँजीको अनुपात मिलान गर्न लागेको हो । सभाले संस्थापकतर्फ ८७ दशमलव १० प्रतिशत र सर्वसाधारणतर्फ १२ दशमलव ९० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ ।  यस कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा आईपीओ विक्री गर्ने तयारी गरेको छ । गत माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट कम्पनीले आईपीओ विक्रीको प्रस्ताव पारित गरेको थियो ।  आईपीओ विक्रीका लागि कम्पनीले चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको यस बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो । कम्पनीको आईपीओ पश्चात रू. ४ अर्ब पुग्नेछ । आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्यांकनका आधारमा शेयरमूल्य तय हुनेछ । कम्पनीले आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुनेमा विश्वास व्यक्त गरेको छ ।  व्यवसायिक उत्पादन शुरु गरेपछि नै नाफा कमाउँदै आएको र विगत तीन वर्षको औषत मुनाफा वार्षिक रू. १ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ ।