विराटनगर (अस) । सुनसरीको गढी गाउँपालिकामा रहेको चौधरी ग्रूपको चाउचाउ उद्योगका ५५३ कर्मचारी, मजदूर र मजदूरका आफन्तको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सीजी फुड्स इन्डस्ट्रिज प्रालि परिसरमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शुक्रवार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शिविरमा १७७ जनाको रगत परीक्षण, ११३ जनाको भिडियो एक्सरे, ८७ जनाको ईसीजी र ३१ जनाको दाँतको परीक्षण गरिएको छ । नोबेल मेडिकल अस्पतालको सहयोगमा हुने स्वास्थ्य शिविरमा ल्याब, ईसीजी, भिडियो एक्सरे सहितको निःशुल्क सेवा प्रदान गरिँदै आएको उनले बताए । चौधरी ग्रूपका इकाई प्रमुख राजीव सिंह राजपुतले उद्योगमा काम गर्ने मजदूर तथा कर्मचारीको सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरू गरिएको बताए । यसअघि आँखा शिविर मात्र गरिँदै आएकोमा अहिले सबै परीक्षण गरिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
उद्योगका प्रशासन तथा मानव संसाधन विभाग प्रमुख उदयप्रकाश शाहका अनुसार उद्योगमा कार्यरत मजदूर ‘ओभरटाइम’ काम गर्ने भएकाले उनीहरूले स्वास्थ्य परीक्षण गर्न जाने समय नपाउने र कतिपयले समय पाए पनि जान आलटाल गर्ने भएकाले उद्योगभित्रै यो सुविधा उपलब्ध गराइएको हो । उद्योगका कर्मचारी र मजदूरका लागि अब वर्षेनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने उनको भनाइ छ ।