काठमाडौं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडकको काम अन्तिममा पुगेको छ । झण्डै पाँच वर्ष पहिले थालिएको सो सडक विस्तारको काम ९५ प्रतिशत सकिएको छ ।
सडकमा अहिले अन्तिम काम मात्रै बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । डिभिजन सडक कार्यालय ललितपुरले गोदावरी पुल नजिकै निर्माण गर्नुपर्ने भए पनि नगरेकाले अहिले आयोजनाले नै गरिरहेको छ । पहिले घर भत्काउन बाँकी भएकाले निर्माण अघि बढ्न सकेको थिएन भने अहिले सो स्थानमा घर भत्किसकेको छ ।
विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन । दुई वर्ष पहिले सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको हो ।
तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले बताएको छ । सडकको चौडाइ कम भएकै कारण पैदल यात्रुमार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन । सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ । त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको छ । उपलब्ध चौडाइमा निर्माण गर्दा बजार क्षेत्रमा चौडाइ अति कम छ ।
आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो । डाँफे–समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी तथा लामा र समानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्का सम्झौता विसं २०७३ र दुई ठेक्का विसं २०७४ मा भएको थियो ।
आयोजनाले उपत्यकाका दश सडकमा विस्तारको काम गरिरहेकामा अहिलेसम्म दुई सडक मात्रै सम्पन्न भएका छन् । पहिलो वर्ष जग्गा प्राप्त हुन नसक्दा सडक निर्माण शुरू हुनै सकेको थिएन । उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयपछि अहिले अधिकांश सडक अन्तिम चरणमा छन् । आयोजनाले नयाँ सडकमा विस्तारको योजना नबनाएर निर्माणाधीन सडकमा कालोपत्र सकाएर ठेक्का अन्त्य गर्ने योजना बनाएको छ । रासस