काठमाडौं । बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सावर्जनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै कम्पनी दोस्रो त्रैमाससम्ममा घाटामा छन् ।
दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल तराई रू. ७ करोड ४१ लाख घाटामा छ । यस कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा भने रू. १५ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको सञ्चालन आम्दानी घटेकाले र वित्तीय खर्चमा वृद्धि भएकाले घाटामा रहेको हो ।
गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. ३ अर्ब ८६ करोड रहेकोमा चालू आवमा घटेर रू. ३ अर्ब ६८ करोडमा सीमित भएको छ । त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवमा रू. ११ करोड ३७ लाख रहेकोमा चालू आवमा बढेर रू. १४ करोड ५ लाख पुगेको छ ।
चुक्ता पूँजी रू. १२ करोड १० लाख रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ३ अर्ब ७१ करोड सञ्चिति गरेको हो । कम्पनीको प्रतिशेयर आम्दानी १२३ रुपैयाँ ऋणात्मक (वार्षिकीकरण) छ । नेटवर्थ भने ३ हजार १७३ रुपैयाँ छ ।
त्यस्तै बोटलर्स नेपाल बालाजु दोस्रो त्रैमाससम्ममा रू. १५ करोड १५ लाख घाटामा छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनी रू. २९ करोड २१ लाख नाफामा थियो । चालू आवमा सञ्चालन आम्दानी घटेकाले र वित्तीय खर्च बढेकाले कम्पनी घाटामा रहेको हो । गत आवमा कम्पनीको सञ्चालन आम्दानी रू. ५ अर्ब १९ करोड रहेकोमा चालू आवमा घटेर रू. ४ अर्ब ५८ करोडमा सीमित भएको छ ।
त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवमा रू. ७ करोड ४२ लाख रहेकोमा चालू आवमा बढेर रू. १५ करोड ४९ लाख पुगेको छ । कम्पनीको चुक्ता पूँजी रू. १९ करोड ४८ लाख छ । दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५ अर्ब ५२ करोड सञ्चिति गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १४९ रुपैयाँ ऋणात्मक (वार्षिकीकरण) छ । नेटवर्थ भने ३ हजार १२० रुपैयाँ छ ।
बोटलर्स नेपाल तराईको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
बोटलर्स नेपाल बालाजुको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्