१४ जिल्लामा भीडभाडका क्षेत्र बन्द गर्न अपील

काठमाडौं । सरकारले कोभिड–१० को दोस्रो लहर बढेको निष्कर्ष निकाल्दै १४ अतिप्रभावित जिल्लाको वर्गीकरण गरी विद्यालयसहित भीडभाडका क्षेत्र बन्द गर्न अपील गरेको छ । बिहीवार भएको सरकारको सचिवस्तरीय बैठकले १४ अतिप्रभावित जिल्ला छुट्ट्याएर कडाइ गर्ने निर्णय गरेको हो । सरकारले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर र कैलालीलाई अतिप्रभावित जिल्लामा वर्गीकरण गरेको छ । यसैगरी मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई पनि अतिप्रभावित जिल्लामा वर्गीकरण गरी मन्त्रालयले ती स्थानमा विद्यालय नजान र बढी भीडभाड हुने स्थानमा सहभागी नहुन अपील गरेको हो । बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै ती जिल्लामा विद्यालय, रात्रिव्यवसाय एवं ७ बजेपछिका सबै रेस्टुराँ एवम् क्लब, खेलकुद, जीम, धार्मिक स्थल, सिनेमा हल, सभा, सम्मेलन, जात्रा, बैठक, सिनेमा, नाटकगृह, पार्टी प्यालेसलगायत सबै भीडभाड हुने क्षेत्र बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको हो । मन्त्रालयले देशभरका सबै सरकारी अस्पतालका ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्ट्याउन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी अपीलमा सबै सरकारी अस्पतालमा ५० प्रतिशत बेड छुट्ट्याएर निःशुल्क कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको हो । यसअघि कोरोनाका बिरामीलाई अस्पतालहरूले अन्य अस्पताल सिफारिश गरेर दुःख दिने गरेकोमा नियमित सेवा लिइरहेका बिरामीमा कोरोना पुष्टि भएमा अन्य अस्पताल पठाएर दुःख नदिन निर्देशन मन्त्रालयले दिएको छ । निजी अस्पताललाई मन्त्रालयले कोरोनाको जाँच शुल्क २ हजारसम्म र सामान्यलाई ५ हजार २५० र जटिललाई उपचार शुल्क बढीमा २२ हजार ५ सयसम्म मात्र लिन निर्देशन दिएको छ । बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई कोरोना परीक्षण र उपचारमा प्राथमिकतामा राख्न निर्देशन दिइएको छ । सबै अस्पतालमा जरो जाँच क्लिनिक सञ्चालन गर्न, कोभिड–१९ परीक्षणका लागि नमूना संकलन र परीक्षणको व्यवस्थापन गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले नेपालका विभिन्न होटेलमा आई बसोवास गर्ने विदेशीको रजिस्ट्रेशन चुस्त गरी पीसीआर नतीजा नेगेटिभ आएको अवस्थामा मात्र होटेलमा वास दिन निर्देशन दिएको छ ।