आईएमएफको चौथो ठूलो ऋणी बन्दैछ पाकिस्तान

काठमाडौं । कर्जा संकटमा फसेको पाकिस्तान बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को चौथो ठूलो ऋणी बन्दैछ । आगामी ९ महीनामा पाकिस्तानले आईएमएफबाट ३ अर्ब डलर बराबरको ऋण पाउँदैछ । सो कर्जा पाएपछि पाकिस्तान कोषबाट सबैभन्दा धेरै ऋण लिने चौथो ऋणी हुनेछ । पाकिस्तानले सन् १९४७ मा बेलायती स्वतन्त्रतायताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । मार्च ३१ सम्ममा आईएमएफको ऋणीहरूको सूचीमा पाकिस्तान पाँचौं स्थानमा छ । बिहीवार आईएमएफ र पाकिस्तानबीच नयाँ कर्जा सहमति भएको छ । सो सहमति अनुसार आगामी ९ महीनाभित्र पाकिस्तानले आईएमएफबाट अरु ३ अर्ब डलर पाउनेछ । यो सम्झौतालाई आईएमएफको सञ्चालक समितिले भने पारित गर्न बाँकी छ । ४६ अर्ब डलरसहित अर्जेन्टिना कोषबाट ऋण लिनेहरूको सूचीमा शीर्ष स्थानमा छ । १८ अर्ब डलर ऋण लिएको इजिप्ट दोस्रो स्थानमा छ । १२ अर्ब २० करोड डलरसहित युक्रेन तेस्रो स्थानमा छ भने ८ अर्ब २० करोड डलर ऋण लिएको इक्वेडर चौंथो स्थानमा छ । अहिले पाँचौं स्थानमा रहेको पाकिस्तानले अहिलेसम्म आईएमएफबाट ७ अर्ब ४० करोड डलर ऋण लिएको छ । आगामी नौं महीनाभित्र पाकिस्तानको कर्जाको आकार बढेर १० अर्ब ४० करोड डलरमा पुग्नेछ । चरम नगद अभाव भोगिरहेको पाकिस्तान अहिले चरम भुक्तानी संकटमा फसेको छ । युक्रेनी युद्धको बाछिटा अनि घरेलु स्तरमा उत्पन्न चुनौतीका कारण उसको समस्या झन् झन् बढिरहेको छ । आईएमएफसँग कूल ९३ देशहरूले ऋण लिएका छन् । एशिया क्षेत्रमा आईएमएफसँग सबैभन्दा धेरै ऋण लिने देश पाकिस्तान हो । आईएमएफसँग श्रीलंका, नेपाल, उज्बेकिस्तान, मंगोलिया आदिले पनि ऋण लिएका छन् । तर, यी देशको ऋण पाकिस्तानको भन्दा निकै कम छ । एजेन्सी

सम्बन्धित सामग्री

पाकिस्तानलाई अब ऋण प्राप्त गर्न कठिन हुन सक्ने

काठमाण्डाै – पाकिस्तानले अब विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने देखिएको विश्व बैंकको एक रिपोर्टमा भनिएको छ । पाकिस्तान सबैभन्दा धेरै बाहिरी ऋण भएको शीर्ष १० देशमा परेको र कोभिड–१९ महामारीपछि ऋण सेवा निलम्बन पहल (डीएसएसआई) का लागि योग्य भएको हुँदा अब उसलाई विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने विश्व बैंकको रिपोर्टमा भनिएको छ । १० सबैभन्दा ठूला डीएसएसआई योग्य ऋणी देशको संयुक्त विदेशी ऋण सन् २०२० को अन्त्यमा पाँच सय नौ बिलियन डलर थियो, यो सन् २०१९ को तुलनामा १२ प्रतिशत धेरै हो । सबैभन्दा धेरै ऋण लिने १०...