गतवर्षको तुलनामा आर्थिक क्रियाकलाप बढ्यो : पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत

काठमाडौं। मुलुकको अर्थतन्त्र निकै शिथिल बनेको चर्चाबीच पछिल्लो समय अर्थतन्त्र विस्तार भइरहेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहेको उल्लेख गरेको छ । यो गतवर्षको सोही अवधिको आर्थिक क्रियाकलापसँग गरिएको तुलना हो ।  गतवर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष सोही अवधिमा आर्थिक क्रियाकलाप बढेको छ । यो मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांक भएको कार्यालयको भनाइ छ । कार्यालयले आर्थिक क्रियाकलापको तथ्यांक, उत्पादन, लगानी, उपभोग र बचत केलाउने अन्तरराष्ट्रिय मापदण्ड र सिद्धान्तमा आधारित रहेर कुल गार्हस्थ्य उत्पादनको तथ्यांक सार्वजनिक गरेको हो । उसका अनुसार खानी र खनिजको क्षेत्र, निर्माण, होटेल व्यवसाय, वित्त र बीमाक्षेत्र, प्रशासन र सहयोगी क्षेत्र आदिमा उल्लेख्य सुधार देखिएको छ । गतवर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष खानी र खनिज १५ दशमलव ८ प्रतिशतले बढेको छ । निर्माण ११ दशमलव ४ प्रतिशतले बढेको छ । वित्त र बीमामा १३ दशमलव २ प्रतिशत तथा प्रशासनमा ८ दशमलव ८ प्रतिशतको विस्तार देखिएको छ ।  व्यापारमा भने पहिलो त्रैमासमा गिरावट आएको छ । गतवर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा थोक तथा खुद्रा व्यापार र मोटर/मोटरसाइकल मर्मतसम्भारको क्षेत्रमा १ दशमलव २ प्रतिशतको गिरावट आएको देखिएको छ ।  तथ्यांक कार्यालयका अनुसार आव २०७९/८० को दोस्रो त्रैमासमा अर्थतन्त्र १ प्रतिशतले संकुचित भएको थियो । त्यसयता अर्थतन्त्रको वृद्धिदर मध्यम गतिमा छ । २०७९/८० को तेस्रो र चौथो त्रैमासमा अर्थतन्त्र क्रमश: २ दशमलव ४ र ४ दशमलव ३ प्रतिशतले बढेको थियो । सामान्यतया अर्थतन्त्र लगातार दुई त्रैमास संकुचित भएमा आर्थिक मन्दी भएको मानिन्छ । यसअनुसार चालू आवको पहिलो त्रैमास (साउन–असोज) मा गत आवको अन्तिम त्रैमासको तुलनामा अर्थतन्त्र संकुचित भएको छ । गत आवको अन्तिम त्रैमासमा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धि (कुल गार्हस्थ उत्पादन) २ दशमलव ५ प्रतिशत रहेकोमा यस वर्षको पहिलो त्रैमासमा १ दशमलव ४ प्रतिशतले घटेको छ । गत वैशाख–असारको तुलनामा साउन–असोजमा विद्युत्, ग्यास, खानी र खनिज, व्यापार, यातायात र भण्डारजस्ता क्षेत्र घटेका छन् । नेपालमा आवको अन्तिम त्रैमासमा बढी आर्थिक क्रियाकलाप हुन्छ । खासगरी सरकारी खर्च धेरै हुने कारणले यो त्रैमासमा अरू त्रैमासको तुलनामा बढी आर्थिक क्रियाकलाप हुन्छ । यो त्रैमाससँग तुलना गर्दा पहिलो त्रैमासमा वृद्धिदर न्यून हुनु वा संकुचित भएको देखिनु स्वाभाविक भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरी भण्डारीले बताए । यसअघिका वर्षमा पनि पहिलो त्रैमासमा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर न्यून वा संकुचित हुने गरेको देखिन्छ । गतवर्षको पहिलो त्रैमासमा पनि मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर शून्य दशमलव ९ प्रतिशतले संकुचित थियो ।  निजीक्षेत्रले भने अर्थतन्त्र मन्दीमा गएको बताउँदै आएको छ । अघिल्लो साता नेपाल उद्योग परिसंघले अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनमा चालू आवको पहिलो त्रैमासमा समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र उद्योगको कच्चा पदार्थ आयातमा समेत गिरावट आएको उल्लेख गरिएको थियो । औद्योगिक उत्पादनको समग्र बजार माग गतवर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष १२ दशमलव ६ प्रतिशत बिन्दुले घटेको परिसंघको प्रतिवेदनमा उल्लेख छ ।  सरकारले यो वर्ष अर्थतन्त्रको आकार ६ प्रतिशत बढ्ने लक्ष्य राखेको छ । विश्व बैंकले चालू वर्षको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गत साता सार्वजनिक गरेको छ । विश्व बैंकको प्रतिवेदनमा आगामी वर्ष भने अर्थतन्त्रमा सुधार आउने उल्लेख छ । उसले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनमा आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण छ । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धि राम्रो हो ।  गत आव नेपालको आर्थिक वृद्धिदर १ दशमलव ९ प्रतिशत थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले यस वर्ष ५ प्रतिशतभन्दा बढी नै आर्थिक वृद्धि प्राप्त हुने दाबी गर्दै आएका छन् । राष्ट्र बैंकले पनि यो वर्ष ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण

विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा पहिलो पटक गरिएको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । सोही अनुसार यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । लुम्बिनीमा अघिल्लो वर्षको आर्थिक वृद्धिदर पाँच दशमलव तीन प्रतिशत थियो । आर्थिक गतिविधिमा अपेक्षाकृत […]

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

काठमाडौं, साउन १६। आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन […]

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो ।गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो । पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७

आर्थिक वृद्धिदर संकुचनमा

यस वर्ष दक्षिण एसियामा नै नेपालको आर्थिक वृद्धिदर कमजोर रहने देखिएको छ ।पछिल्लो समय सार्वजनिक भएका विभिन्न रिपोर्टले दक्षिण एसियामा नेपालको अवस्था कमजोर रहने देखाएको छ । मंगलबार अन्तर्राष्ट्रिय मुद्रा कोषले सार्वजनिक गरेको ‘वल्र्ड इकोनोमिक आउटलुक’ नामक रिपोर्टले श्रीलंका र पाकिस्तानपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर न्यून रहने प्रक्षेपण गरेको हो । कोषले श्रीलंका र […]

चीनको आर्थिक वृद्धिदर किन अविश्वसनीय तरिकाले घट्यो ?

एजेन्सी, ४ कात्तिक । चीनको आर्थिक वृद्धिदर प्रक्षेपण गरेभन्दा कम भएको छ । जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ४.९ प्रतिशत मात्र भएको छ । यो निकै सुस्त वृद्धिदर हो र अर्थतन्त्रसम्बन्धी विश्लेषकहरुले अनुमान गरेभन्दा निकै कम हो । यसअधिको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ८ प्रतिशतको थियो । झण्डै आधा कमले आर्थिक वृद्धिदर […]

चीनको आर्थिक वृद्धिदर घट्यो

एजेन्सी, १ कात्तिक । चीनको आर्थिक वृद्धिदर घटेको छ । जुलाई देखि सेप्टेम्बरसम्मको त्रैमासिकको तथ्यांक अनुसार आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा झरेको छ । आर्थिक प्रक्षेपण गरिएभन्दा यो कम वृद्धिदर हो । यसअघिको त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ८ प्रतिशत पुगेको थियो । चीनमा ऊर्जा संकट चुलिएको छ । कोभिड १९ को संकटले पनि चीनलाई असर गरेको […]

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत

चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब १ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको छ ।

सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा माथि

काठमाडौं। सातवटै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा उच्च रहने भएको छ। अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रदेशहरुको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा बढी रहेको जानकारी दिएको हो। सात प्रदेशमध्ये बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४.६५ र प्रदेश २ को सबैभन्दा कम ३.५२ प्रतिशत रहने अनुमान गरिएको छ।