रौतहटका उखु किसानले उद्योगमन्त्री रमेश रिजाललाई भेटी त्यहाँ अवस्थित श्रीराम सुगर मिल्स सञ्चालन गराउन माग गरेका छन् । नेपालमा चिनी मिल सञ्चालन गर्दा निकै विवादमा फस्नु परेपछि उद्योगीहरू यसलाई सञ्चालन गर्नभन्दा बन्द गर्न सहज मानिरहेको अवस्था छ । यसो हुनुमा सरकार, उखु किसान र उद्योग व्यवस्थापन बीच समन्वय र सहकार्य नहुनु हो । त्यसैले उद्योग सञ्चालनभन्दा पनि यसको व्यवस्थापन पक्षमा ध्यान नदिने हो भने उद्योग खुले पनि समस्या उस्तै रहिरहन्छ ।
नेपालमा उखु किसानले विक्री गरेको उखुको मूल्य भुक्तानी नभएको विषयले निकै तरंग ल्यायो । उनीहरूले माइतीघर मण्डलामा अनशन बसेर भुक्तानी लिनुपर्ने अवस्था आयो । त्यतिबेला चिनी मिलका मालिकले आफ्ना समस्या सुनाउँदा कमैको ध्यान गयो । जबसम्म उखु किसानका समस्या समाधान हुँदैन, जबसम्म चिनी मिलका मालिकको समस्या पनि समाधान हुँदैन तबसम्म नेपालमा चिनी कारखाना सहज रूपमा सञ्चालन हुने वातावरण बन्दैन भनेर बारम्बार भनिँदै आए पनि सरकारले यसलाई बेवास्ता गर्यो । समस्या बहुपक्षीय भएकाले सरोकारवाला सबै बसेर समाधानको ढोका खोल्नुपर्नेमा सरकार चुक्यो । यस्तो अवस्थामा चिनी मिल सञ्चालन गर्न उद्योगीहरू अनिच्छुक हुनु अन्यथा होइन ।
उद्योग सञ्चालन गर्न सरकारलाई गुहार्नुको अर्थ पनि हुँदैन । सरकार आफैले चलाएका उद्योग सञ्चालन गर्न नसकेर बन्द गरिरहेको छ । सञ्चालनमा रहेका उद्योगमध्ये अधिकांश घाटामा छन् । यस्तोमा श्रीराम सुगर मिल्स सञ्चालन ल्याउन त्यति सहज देखिँदैन । उद्योगीहरूले चिनी विक्री गर्न नसकेर आउने समस्यामा सरकारले सहजै समाधान दिन सक्थ्यो । त्यो चिनी किनेर भण्डारण गरिदिएको भए मिलले पैसा पाउँथे र किसानले पनि उखुको भुक्तानी पाउँथे । आयातित सस्तो चिनी अर्को समस्या हो । खुला सिमानाका कारण सस्तो चिनी आयात हुँदा नेपाली चिनीले बजार पाउन समस्या भएको थियो ।
चिनी आयातमा प्रतिबन्ध लगाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने हुन्थ्यो । त्यसैले यो समस्याको समाधान त्यति बेला ननिकाल्दा नै उद्योग बन्द हुने अवस्थामा पुगेको हो । त्यसैले उद्योग सञ्चालनभन्दा पनि कसरी चिनी उद्योगको व्यवस्थापन मिलाउने भन्ने कुरा अहिलेका लागि सोच्न आवश्यक छ । चिनी मिल र उखु किसानले भोग्दै आएका समस्या समाधान नभए बाँकी रहेका उद्योग पनि बन्द नहोलान् भन्न सकिँदैन ।