काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्डको इकाई निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्कासन गर्न लागेको हो ।
कुल १ करोड १२ लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडलाई र १ प्रतिशत दरको ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडलाई सुरक्षित राखिएको छ । यी बाहेक बाँकी ६ करोड ८० लाख इकाई भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
यो इकाई छिटोमा फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । योजनाको इकाई निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले योजना व्यवस्थापकलाई मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ ।
क्यापिटलकै व्यवस्थापनमा प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना १० वर्षे अवधिको बन्दमुखि प्रकृतिको रहेको छ । यस योजनाको आकार ८० करोड रुपैयाँको रहेको छ । योजनाको इकाई न्यूनतम ४ करोड विक्री हुनुपर्नेछ ।
न्यूनतम इकाई विक्री हुन नसकेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जानकारी दिएको छ । योजना परिपक्व भए पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी प्रचलित कानून बमोजिम इकाईधनीहरुलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।यस योजनाको इकाई बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्तसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।