‘आज तिमी खुब राम्री देखिएकी छौं,’ ‘तिमीले विभिन्न तरीकाले कपाल बाँध्न सिक्नुपर्छ, जसले तिमीलाई अझ आकर्षक बनाउनेछ,’ ‘सामान बाँधेर तयार पारिराख, मैले आउने महीना सेसेल्स जाने योजना बनाएको छु, तिमी पनि मसँगै आऊ,’ ‘तिमीलाई पौडिन आउँछ भने हामी समुद्री स्नानको मजा लिँदै समुद्र तटमा आराम गर्न सक्छौं’ युवा प्रेमीप्रेमिकाको जस्तो लाग्ने यी संवाद सन् २०१५ फेब्रुअरीमा नेशनल स्टक एक्सचेन्ज लिमिटेड (एनएसई) कि तत्कालीन कार्यकारी प्रमुख चित्रा रामाकृष्ण र एक अज्ञात साधुको हो । चित्रालाई कार्यकारी प्रमुख हुँदा यिनै साधुको आडमा एक्सचेञ्जमा अर्बाैं रुपैयाँ घोटाला गरेको आरोप लागेको छ ।
माइक्रोसेकेन्डले पनि आदेश कार्यान्वयनमा फरक पार्ने हुँदा ठूला कारोबारीलाई संसारभरका एक्सचेन्जमा विशेष सुविधा दिइएको हुन्छ । घोषित रूपमा दिइने यस्ता सुविधालाई चित्राको टोलीले दुरुपयोग गरेको थियो ।
तीन वेदको इमेल वार्ता
‘ग्रूप चिफ कोअर्डिनेशन अफिसरको पद र भूमिका ठीकै हो, यसलाई अघि बढाउन सकिन्छ । तर, मेरो विचारमा यसलाई ग्रूप प्रेसिडेन्ट एवम् चिफ कोअर्डिनेशन अफिसरको रूपमा पनि राख्न सकिन्छ । पछि हजुरको जस्तो निर्देशन हुन्छ हामी एक्सचेन्जलाई ‘जी’ को अधीनमा ल्याएर चिफ अपरेटिङ अफिसर बनाइदिन्छौं । यसमा हजुरको मार्गनिर्देशन चाहियो स्वामी’, ‘... हाम्रो सोच जति ठूलो र दृष्टिकोण स्पष्ट हुन्छ, परिस्थिति त्यति नै सजिलो हुँदै जान्छ, आशीर्वाद ।’ यो संवादले चित्रा साधुको सल्लाहविना कुनै पनि कार्य गर्दिन थिइन् भन्ने पुष्टि गर्छ । साधुलाई चित्राले सम्पूर्ण गोप्य कुरा उपलब्ध गराउँथिन् । साधुले आफूलाई साँच्चीकै साधु देखाउन ऋग्, यजुर र साम तीनओटा वेदको नामबाट ‘ऋग्यजुरसाम’ नामको इमेल बनाएका थिए । साधुको आशीर्वाद (आदेश) ले चित्राले शेयर र शेयरबजारको कुनै पनि जानकारी नभएका व्यक्ति आनन्द सुब्रह्मण्यम्लाई महत्त्वपूर्ण पदमा नियुक्ति गरेर धनलाभ गराएकी थिइन् । घोटालामा साधु, सुब्रह्मण्यम् र चित्रा मूल रूपमा जोडिएका छन् । इमेल वार्तामा आएको अक्षर ‘जी’ यिनै सुब्रह्मण्यम् हुन् भन्ने अनुमान गरिन्छ । साधुको भेषमा कुरा गर्ने पनि सुब्रह्मण्यम् नै हुन् भन्नेसमेत अड्कल गरिएको छ ।
चित्राको जीवनचित्र
सन् १९६३ मा मुम्बईमा जन्मेकी चित्रा चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले सन् १९८५ मा इन्डस्ट्रियल डेभलपमेन्ट बैंक अफ इन्डिया (हाल आईडीबीआई बैंक) बाट जागीरे जीवन शुरू गरेकी थिइन् । भारतीय शेयरबजार नियामक सेक्युरिटिज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) गठन गर्ने मुख्य टोलीमा संलग्न थिइन् । सेबीको गठनपछि पनि उनी सेबीका दोस्रो बजार सल्लाहकार र प्रकटीकरण तथा लेखमान जस्ता समितिमा रहेर काम गरेकी थिइन् । एनएसईको गठनमा पनि सहभागी भएकी उनी २१ वर्षपछि सन् २०१३ मा सोही एक्सचेञ्जको प्रमुख कार्यकारी बनिन् । आफैले स्थापना गरेको संस्थामा प्रमुख कार्यकारी भएपछि पक्कै पनि त्यसको श्रीवृद्धिमा नै समय लगाउलिन् भनेर अनुमान गर्दा अन्यथा हुन्न । तर, चित्राको हकमा भने यो कुरा लागू भएन । सुरेखा सल्लाहेवा (कोलम्बो स्टक एक्सचेन्ज) र लिपिङ सोङ (सेन्जेन स्टक एक्सचेन्ज, चीन) पछि एशिया प्रशान्त क्षेत्रका एक्सचेन्जको प्रमुख कार्यकारी हुने तेस्री महिलाको श्रेय पाएकी थिइन् । चित्रालाई फर्चुन नामक पत्रिकाले शक्तिशाली महिलाको १७ औं स्थानमा राखेको थियो । उनी एक्सचेन्ज र क्लियरिङ हाउसको संगठन वल्र्ड स्टक एक्सचेन्ज फेडरेशनको बोर्ड अध्यक्ष पनि नियुक्त भएकी थिइन् । चित्रा कोलो (को–लोकेशन) काण्डमा मुछिइन् र तोकिएको समय (५ वर्ष) पूरा नहुँदै सन् २०१६ मा राजीनामा गरिन् । यसमा एकजना ‘अदृश्य हिमाली साधु’ जोडिएका छन् तर, उनी को हुन् चित्राले पनि बताएकी छैनन् ।
चित्राको विचित्र काम र कुरा
भारत सरकार स्वामित्वको बामर लोरी एन्ड कम्पनी लिमिटेडमा वार्षिक १५ लाख भारतीय रुपैयाँ (भारू) तलबमा काम गरिरहेका आनन्द सुब्रह्मण्यम्लाई साधुकै आशीर्वादमा चित्राले वार्षिक झन्डै २ करोड भारू तलब सुविधासहित सन् २०१३ मा मुख्य रणनीतिक सल्लाहकार नियुक्त गरेकी थिइन् । उनी सन् २०१५ मा ग्रूप अपरेटिङ अफिसरमा नियुक्त भए । सुब्रह्मण्यम्को सेवा र सुविधा दिन दुगुणा रात चौगुणा दरमा बढ्दै गयो । सुब्रह्मण्यम्लाई सप्ताहमा ३ दिन मात्र काम गरे हुने अर्को छूट साधुले गराएका थिए । अन्तिम समयमा आएर सुब्रह्मण्यम्लाई सप्ताहमा ४ दिन काम गर्ने गरी उनको वार्षिक तलब बढाएर ४ करोड ५० लाख भारू पुर्याउने पनि उनै साधु थिए । यति प्रभावशाली भूमिका खेल्ने साधु को हुन् थाहा नभएको बयान चित्राले दिएकी छन् । चित्राको भनाइअनुसार साधुसँग उनको भेट गंगा नदीको कुनै घाटमा भएको थियो । चित्राले साधुलाई ‘परमहंस’ भन्दै उनी हिमालय क्षेत्रमा विचरण गर्ने बताएकी छन् । हिमालयमा बस्ने साधुसँग इमेल सुविधाको प्रसंगमा चित्राले आध्यात्मिक शक्तिले जहाँ पनि इमेल चलाउन सक्ने क्षमता हुने बताएकी थिइन् । साधुको आशीर्वादस्वरूप सुब्रह्मण्यम् पत्नी सुनिताले पनि वार्षिक ७ लाख भारू तलब सुविधासहित एनएसईको चेन्नईस्थित क्षेत्रीय कार्यालयमा सल्लाहकारको पद पाएकी थिइन् । सुनिताको तलब सुविधा पनि ३ वर्षमा बढ्दै गएर १ करोड ३३ लाख भारू पुगेको थियो ।
एनएसईको कोलो सुविधाको माध्यमबाट कारोबार सदस्य (दलाल) ले आफ्नो सर्भर एक्सचेन्जको डाटा सेन्टरमा राख्न सक्थे । यस्तो सुविधाले टाढाबाट कारोबार गरिरहेका कारोबारीभन्दा पहिला आफ्नो डाटा पठाएर लाभ लिनसक्थे । यसो गर्दा अरूभन्दा पहिला आफूले शेयर किन्ने अवसर पाउँथे । शेयर कारोबारमा आदेश प्रविष्ट गरेको समयानुसार एकैपटक आदेश कार्यान्वयन प्रणाली (अर्डर म्याचिङ सिस्टम) मा पुग्ने बहुप्रेषण (मल्टिकास्ट) विधिको सट्टामा ‘टिक बाई टिक प्रणाली’ (एकपछि अर्को आदेश प्रविष्ट हुने युनिकास्ट विधि) लाई उपयोगमा ल्याएर प्रभावशाली व्यक्तिलाई लाभ दिलाएर घोटाला गराइएको थियो । माइक्रोसेकेन्डले पनि आदेश कार्यान्वयनमा फरक पार्ने हुँदा ठूला कारोबारीलाई संसारभरका एक्सचेन्जमा विशेष सुविधा दिइएको हुन्छ । घोषित रूपमा दिइने यस्ता सुविधालाई चित्राको टोलीले दुरुपयोग गरेको थियो । ओपीजी नामक दलाल कम्पनीले एनएसईको ट्रेडिङ प्रणाली सञ्चालन गर्ने कम्पनीको पूर्वकर्मचारीको मद्दत लिएर एक्सचेन्जको कुन सर्भर कुन समयमा बढी आदेश आउँछ भन्ने भित्रि कुराको जानकारी लिएको थियो । यसमा एनएसईका उच्चपदस्थ कर्मचारीको पनि संलग्नता रहेको थियो । चित्राले लाभ गराएका विभिन्न ठूला कारोबारी सेबीले जाँच शुरू गरेपछि शेयर बेचेका थिए ।
सीबीआईको प्रवेश
सेबीले सन् २०१५ मा एक ह्विसल ब्लोअरको बेनामी उजुरी प्राप्त गरेको थियो । मनिलाइफ नामक एक आर्थिक पत्रिकालाई पनि उपलब्ध गराइएको उक्त पत्रको आधारमा यस घटनालाई सुचेता दलालले सार्वजनिक गरेकी थिइन् । यस घटनामा तात्कालिक अर्थमन्त्री पी. चिदम्बरम्को पनि संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । त्यतिबेला चिदम्बरमले शेयरबजार सम्बद्ध सबै संस्थामा आफ्ना नजिकका व्यक्ति नियुक्त गरेका थिए । चित्रा पनि तिनै मध्येको एक मानिएकी छन् । अहिले यो घटनालाई सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेशन (सीबीआई) ले अनुसन्धान गरिरहेको छ । चित्रा र सुब्रह्मण्यम् दुवै अहिले हिरासतमा छन् । सत्यम कम्प्युटर घोटाला काण्ड ३३ महिना लगाएर छानविन गरेको सीबीआईले यो घटनालाई कहिले निष्कर्षमा पुर्याउने हो र ककसलाई दोषी ठहर गर्ने हो त्यो हेर्न बाँकी छ ।
लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।