काठमाडौं । सिद्धार्थ हस्पिटालिटी ग्रुप २६ औं वर्षमा प्रवेश गरेको छ । २६ वर्षअघि कैलालीको टीकापुरबाट हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको यो ग्रुपले भैरहवामा यसै वर्ष पाँचतारे होटल ‘सिद्धार्थ भिलाषा’लगायत देशभर होटल तथा क्याफे सञ्चालन गर्दै आएको छ ।
यो ग्रुपले पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म आफ्नै लगानीका होटलको सञ्चालन तथा विभिन्न कम्पनीले निर्माण र व्यवस्थापन गरी करीब ३ दर्जन आउटलेट सञ्चालन गरिरहेको छ
यस ग्रुपले २ हजारभन्दा बढी जनशक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको छ ।
मंगलवार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट आउटलेट र कर्मचारीहरूलाई अवार्डसमेत वितरण गरिएको हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले हाल देशमा देखिएको राजनीतिक र सामाजिक अस्थिरताको कारण विगतदेखि आर्थिक मन्दीको असर पर्दा पनि सिद्धार्थ ग्रुप अन्तर्गतका कम्पनीले मुनाफा आर्जन गर्नु निकै उपलब्धिमूलक रहेको बताए । उनले भने, ‘यो गुणस्तरयुक्त आर्थिकरूपमा सक्षम र व्यवस्थित हस्पिटालिटी कम्पनीलाई अगाडि बढाइरहेका छौं भन्ने उदाहरण पनि हो ।’
सिद्धार्थ हस्पिटालिटीले वार्षिकोत्सवलाई लक्षित गरी एक हप्तासम्म विभिन्न आउटलेटमा खाना तथा बसाइमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छूटको घोषणा गरेको छ ।
बीकम पढ्दै गरेका विनोद र उनका एक भारतीय साथीले सन् २००८ मा ३० हजार भारुबाट सुरु भएको ‘वाउ मोमो !’ (मःम, मम, मोमो) ले गत आर्थिक वर्षमा ४ अर्ब ९० करोड भारतीय रुपैयाँको कारोबार गरेको थियो । यो वर्ष ६ अर्ब ६० करोडसम्मको कारोबार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
काठमाडौ । छिट्टै विक्री हुने सस्ता वस्तु (फास्ट मुभिङ कन्जभर गुड्स एफएमसीजी) आयात गरेर विक्री वितरण गर्दै आएको युनाइटेड डिस्ट्रिब्युटर्स (नेपाल) (पी.) लिमिटेडको ५ वर्षमा करीब ५० प्रतिशतले सञ्चालन आम्दानी बढेको छ ।
रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार ५ वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४८ दशमलव ६२ प्रतिशतले बढेको हो । आर्थिक वर्ष (आव) सन् २०१९ मा ९ अर्ब २६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीले आव सन् २०२३ मा १३ अर्ब ७७ करोड रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ ।
कम्पनीको आव सन् २०२२ को तुलनामा सन् २०२३ मा भने आम्दानी शून्य दशमलव २६ प्रतिशतले घटेको छ । कम्पनीले आव सन् २०२२ मा १३ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको ६ अर्ब रुपैयाँको अल्पकालीन कर्जाको लागि ईक्राले ए टु प्लस रेटिङ दिएको छ ।
विशाल ग्रुपको लगानी रहेको कम्पनीले पी एण्ड जी, ब्रिटानीया, अमुल, एण्ड एससी जोनसन लगायतका कम्पनीको प्रडक्टहरू नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । कम्पनीको मुलुकभर ३५ हजार हाराहारीमा आउटलेट छ ।
सन् २००३ मा स्थापित यस कम्पनीमा अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल, विशाल अग्रवालको ५० प्रतिशत हिस्सा र बाँकी हिस्सा अन्य १० जनाको रहेको छ ।
कुन वर्ष कती आम्दानी ?
वर्ष
सञ्चालन आम्दानी
सन् २०१९
9,267
सन् २०२०
9,709
सन् २०२१
12,118
सन् २०२२
13,810
सन् २०२३ (अपरिष्कृत)
13,773
कुल
58,677
स्रोत : ईक्रा नेपाल ।
काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्ट स्टोर प्राइभेट लिमिटेडले ५ वर्षमा नै ८४ अर्ब ४१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०१७ मा ११ अर्ब ७७ करोड, वित्तीय वर्ष २०१८ मा १५ अर्ब २७ करोड, वित्तीय वर्ष २०१९ मा १७ अर्ब ९९ करोड, वित्तीय वर्ष २०२० मा १९ अर्ब ३६ करोड, वित्तीय वर्ष २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको हो ।
इक्राले गत मार्चमा सार्वजनिक गरेको रिपोर्ट अनुसार १२ अर्ब ८७ करोड रुपैयाँको कर्जाको लागि रेटिङ गराएको छ । इक्राले ५ अर्ब २५ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि डबल बी र ७ अर्ब ६१ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पाएको छ ।
इक्राका अनुसार मुलुकभर भाटभटेनीको १८ आउटलेटहरू छन् । आगामी दुईदेखि तीन वर्षमा थप आठ ओटा आउटलेट खोल्ने कम्पनीको योजना छ । कम्पनीमा मीनबहादुर गुरुङको ६० प्रतिशत र उनको श्रीमती सावित्री घले गुरुङको ४० प्रतिशत शेयर स्वामित्व छ।
कुन वर्षमा कति मुनाफा ?
वित्तीय वर्ष
सञ्चालन नाफा (रु.)
२०१७
11,779
२०१८
15,278
२०१९
17,996
२०२०
19,362
२०२१
19,997
कुल
84,412
स्रोत : इक्रा नेपाल
काठमाडौं । कुनै समय महँगो मूल्यमा माटाका कलाकृति बेच्ने विनीता बस्नेतको समय अचेल विशालनगरको सेन्ट्रल अपार्टमेन्टअगाडिको विनीता बस्नेत (बीबी) कलेक्शनमा बित्छ ।
नशा बनिसकेको माटोमा कला भर्ने पेशालाई रूपान्तरण गरेर सिल्क साडीमा डिजाइन भर्न थालेपछि उनको मुकाम विशालनगर सरेको हो । नत्र उनी कुपण्डोलतिर हुन्थिन् ।
माटोसँग जोडिएको उनको कथा रोचक छ । ‘माटो रोज्छु भनेर रोजिनँ,’ उनी विगतमा पुगिन् । माटोबाट कलायात्रा शुरू गरेकी विनीताले अध्ययन गरेको कलाकारितालाई नै व्यवसायको रूप दिइन् ।
आफ्नो कलाले कति बेला व्यवसायको रूप लियो उनलाई ठम्याउन गाह्रो पर्छ । उनले भारतको जयपुर र दिल्लीबाट कलामा ग्य्राजुएशन र कमर्शियल आर्टमा स्पेशलाइज्ड गरी सन् १९९८ मा अध्ययन सकिन् ।
त्यसपछि कलालाई नै व्यवसायको माध्यम बनाएकी उनी क्ले क्राफ्टसहित व्यावसायिक यात्राको २४ वर्षमा छिन् ।
भारतबाट अध्ययन सकेर फर्केपछि सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालक संगीता थापाले उनलाई माटोसम्बन्धी वर्कशपमा तालीम अफर गरिन् । यो अफर विनीताको बिहेलगत्तै आएको थियो । त्यही वर्कशपले उनलाई माटोको काम अघि बढाउन प्रेरित गर्यो ।
जति पढेलेखेको महिला भए पनि त्यो समयमा बुहारीलाई घरबाहिर काम गर्न र व्यवसाय रोज्न छूट थिएन । यो मामिलामा विनीता निक्कै भाग्यमानी । सासूससुरा र श्रीमानको सहयोगका कारण उनले अध्ययन गरेको कला छोड्नु परेन, बरु व्यवसायमा लाग्ने प्रेरणा मिल्यो ।
‘कला मैसँग थियो, आवश्यक थियो केबल माध्यमको,’ उनी भन्छिन्, ‘माटोमा लागेपछि म एडिक्टेड नै भएँ, वर्कशप सकेर घर फर्केपछि माटोमै समय बिताउन थालेँ ।’
कुमाल समुदायमा सीमित माटोको व्यवसायमा समस्या रहेको उनी सुनाउँछिन् ।
उनीहरू निकै क्षमतावान् तर, काम गर्ने ढर्रा पुरानै । माटोको गुणस्तर र डिजाइन विकसित भइसकेको थिएन । अरूले देखाएको बाटोभन्दा पहिचानयुक्त र नयाँ विषयमा केही गर्ने हुटहुटीले माटोलाई कलाको माध्यम बनाएको उनले सुनाइन् ।
यसै क्रममा उनले भक्तपुर, सानोठिमीका कुमालहरूलाई आश्वस्त पारेर आफ्नै छातामुनि ल्याइन् । अनि थालिन्– माटोको डिजाइन गर्न, गुणस्तर सुधार्न र त्यसलाई आवश्यक पर्ने सामग्रीको जोहो गर्न ।
त्यसबेला कुमालहरूले माटोका क्राफ्टलाई नयाँ ढंगबाट लैजाने योजना सुनाउँदा हामी सक्दैनौं भन्थे । तैपनि सानोठिमीकी लक्ष्मी प्रजापति र अन्य केही महिलाले साथ दिए । उनीहरूको मौलिक शीपलाई कलाको माध्यमबाट अन्तरराष्ट्रियस्तरमा लैजाने विनीताको योजना थियो । आकर्षक सामग्री बनाउन नेपालको माटो उपयुक्त भने नभएको उनको भोगाइ छ ।
‘माध्यम नेपाली माटो, डिजाइन र सृजनशीलता आफ्नै तथा रङ बेलायतबाट मगाउँछु भनेर योजना बनाएँ,’ उनले विगत सम्झिइन्, ‘तर पनि बिजनेश गर्ने सोच थिएन, सासूआमाको सहयोगमा घरको छुट्टै कोठामा माटोका प्लेट, टी कपजस्ता सामग्री बनाएर राख्न थालेँ ।’
शोखका लागि बनाएका भाँडाकुँडा घरमा आएका पाहुनाले लैजान्थे । त्यतिबेलासम्म उत्पादनको मूल्य राख्न नसकेको उनको भनाइ छ । सरकार, दरबारका मानिसको आउजाउ हुने उनको घरमा मात्रै सामान राखेर भएन भनेर श्रीमानको सहयोगमा ललितपुरको कुपण्डोलमा आउटलेट खोलिन् ।
त्यो आउटलेट उनको व्यावसायिक यात्राको पहिलो कदम थियो । माटोका आकर्षक सामग्री बनाउने समूह नै भए पनि विक्री गर्ने ढंग छैन भन्ने लागेर दुई जना कर्मचारी राखेको उनले सुनाइन् ।
हिमालय होटेलनजिक आउटलेट भएकाले ग्राहक विदेशी हुन्थे । सोल्टी होटेलमा बसेका विदेशी पनि सामान किन्न उनको आउटलेट पुग्थे । भर्खर खुलेका टेलिभिजन पनि डेकोरेशनका लागि उनकैमा आउँथे ।
त्यतिबेला उनले ५० हजार रुपैयाँ लगानी गरेकी थिइन् । विक्री राम्रो भएपछि क्ले क्राफ्टमा स्थापित हुन उनलाई गाह्रो भएन ।
अन्य व्यवसायीको भन्दा उनको उत्पादन महँगो हुन्थ्यो । यसको कारण कला, डिजाइन, रङ र राम्रो गुणस्तर हो । ‘आजभन्दा २३ वर्षअघि १ दिनमै लाख रुपैयाँसम्मको सामान बेचेँ,’ उनी उत्साहित देखिन्छिन्, ‘अहिले आश्चर्य लाग्छ, त्यतिबेला माटोका भाँडाको क्रेज निकै थियो ।’
त्यसपछि उनी आउटलेट विस्तार गर्दै भाटभटेनी, ब्लुबर्ड होटेल जस्ता ठाउँमा पुगिन् । ‘मैले माटोमा गुणस्तर र क्रिएटिभिटी दिँदा अरू कुमाल पनि प्रभावित भए,’ उनी भन्छिन्, ‘माटोबाट राम्रै कमाउन सकिने रहेछ भन्ने विश्वास भयो ।’
त्यसपछि नेपालमा माटोमा क्रान्ति नै भएको उनको बुझाइ छ । यो हाम्रो लागि एकदमै राम्रो पेशा हुन सक्छ भन्ने विश्वासको जग चाहिँ त्यही बेला बसेको उनले बताइन् ।
अहिले आर्टमार्फत नेपाली माटो विक्री भएको छ । ‘माटो मूल्यवान वस्तु हो,’ उनी भन्छिन्, ‘यसलाई उपयोग गर्न जान्नुपर्छ ।’ उनले नेपालकै जोनसन रिसोर्टलाई १४ हजार पिस सामग्री बेचेको जानकारी दिइन् ।
सृजनशीलता, डिजाइन र गुणस्तरले उच्च आयवर्गका ग्राहक तान्यो । याक एन्ड यती, हायात जस्ता पाँचतारे होटेल, राजदूतावास हुँदै राजदरबारसम्म क्ले एन्ड क्राफ्टका सामग्री पुगे ।
तर, मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वले क्ले एन्ड क्राफ्टलाई धराशयी बनायो । विदेशी आउन छाडे, होटेलहरू राम्ररी चल्न सकेनन्, उनले बनाउने माटोका सामग्रीको माग घट्यो ।
ग्राहक नपाएर उत्पादन घटाए पनि उनी कहिलेकहीँ शोखका लागि क्ले क्राफ्ट बनाउने गर्छिन् । ‘द्वन्द्वले गर्दा क्ले छोडेँ र त्यससँगै सिकेको साडी डिजाइन तथा उत्पादन बढाएँ,’ उनले भनिन् ।
अहिले हातले बनाएका सिल्क साडी व्यवसायबाट उनी सन्तुष्ट छिन् । ‘मेरो गुरुमन्त्र नै ग्राहकलाई उच्च गुणस्तरका वस्तु विक्री गर्नु हो । गुणस्तरीय हुनुपर्छ, जति महँगो भए पनि माग हुन्छ ।’
कला र सृजनशीलतालाई उनले माटोमा मात्रै सीमित नराखेर सिल्क साडी, ज्वेलरीसम्म पुर्याइन् । उनी गरगहना डिजाइन पनि गर्छिन् ।
कोभिड–१९ का कारण व्यवसाय र लगानी विस्तार गर्ने आँट भने गर्न नसकेको उनले सुनाइन् । क्ले एन्ड क्राफ्टमा फर्किन र साडी उत्पादन बढाउन अझै १ वर्ष कुर्ने मनस्थितिमा छिन् । ‘त्यसपछि व्यवसाय विस्तार गर्ने योजना छ,’ उनले भनिन् ।
साउन २५, धनकुटा । धनकुटामा वृहत कफी विकास कार्यक्रम औपचारिक रुपमा थालनी गरिएको छ ।
उक्त कार्यक्रम अन्तर्गत नीजि क्षेत्रसँग सहकार्य गरेर पाख्रीबास, भेडेटार, सिधुवा, जोरपाटी, हिले, धनकुटामा कफीको आउटलेट निर्माणको तयारी गरिएको छ ।
जसका लागि आगामी पाँच वर्षे योजना अघि सारिएको छ । पहिलो चरणमा पाख्रीबास नगरपालिका क्षेत्रमा कफी पकेट क्षेत्र घोषणा सहित २०७७ असोजदेखि वृहत कफी नर्सरी थालिएको नगरपालिकाले जानकारी दिएको छ ।
कफी विकास कार्यक्रमको औपचारिक उद्घाटन धनकुटाको पाख्रीबासबाट शुरु गरिएको हो । उक्त योजना अनुसार कफी उत्पादनका लागि ५५ लाखको लागतमा प्रशोधन केन्द्र निर्माण गरिने तयारी गरिएको छ ।
यस्तै, ४५ लाखको लागतमा कफी हाईटेक नर्सरी निर्माण र प्रशोधनका लागि आवश्यक जनशक्ती उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गरिने नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले बताइन् । नगरपालिकाका सम्भाबित सबै वडामा कफी खेती तालिम र प्रभावकारी सेवाका लागि कफी संकलन केन्द्र निर्माण गरिने उनको भनाइ छ ।
पाख्रीबासमा मुलुककै नमूना कफी खेतीको रुपमा विस्तार गर्ने योजना अनुसार कार्य अघि सारिएको उनले बताइन् । ‘हामी आगामी वर्षदेखि नै परिणाम दिनेगरी काम अघि बढाएका छौं’, उनले भनिन्, ‘कफीको लागि मुलुककै मोडेल खेती शुरु गरिदैंछ ।’
२०७६ साल फागुनमा कफी सम्बन्धी आधार रेखा थालिएको उक्त स्थानमा हालसम्म पाँच लाख कफी बिरुवा उत्पादन थालिएको छ । यस वर्ष मात्र ५० हजार विरुवा उत्पादन गरी कृषकलाई वितरणको तयारी गरिएको कृषि विज्ञ जीवनकुमार राईले बताए । विज्ञ राईको परिकल्पनामा अघि सारिएको योजना हो ।
पाख्रीबासका ४८ हजार हेक्टर क्षेत्रफलमा कफी खेती गरिने भएको छ । उक्त क्षेत्रफलमा ८४ लाख बिरुवा रोपिने जानकारी दिइएको छ ।
आगामी पाँच वर्षमा २ करोड ४० लाख केजी कफी उत्पादन गरिने योजना अघि बढाइएको छ । जसबाट सरकारी प्रति केजी ८३ रुपैयाँका दरले १ अर्ब ९९ करोड २० लाखको कफी विक्री गर्न सकिने उल्लेख गरिएको छ ।
राईका अनुसार कफी खेतीका लागि नगरको लगानीमा ५ लाख बिरुवा तयारी अवस्थामा रहेका छन् । सबै वडाहरुमा सम्भाव्यता अध्ययन गरी आम समुदायमा खफी खेती विस्तार गर्न लागेको नगर आफैंले पनि ५० रोपनीमा नमूना कफी खेतीको कार्यक्रम समेत शुरु गरेको छ ।
धनकुटाका एक स्थानिय तह एक उत्पादनलाई जोड दिने क्रममा पाख्रिबास नगरपालिका धनकुटाले व्यावसायिक कफी खेती शुरु गरेको हो । कफी खेतीको उद्धाटन गर्दै राईले कफी खेतीको बृहत विकासको लागि वडाका सबै १० वडाका जनप्रतिनीधिहरुले समेत कफी खेती गर्न जोड दिए । उनले कफी खेतीको बजारको जिम्मा नगरले लिनु पर्नेमा समेत जोड दिएका छन् ।