भदौ ३०, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको नवजात शिशु सघन उपचार कक्ष र बाल रोग सघन उपचार कक्ष सञ्चालनमा ल्याएको छ ।
नेपालमै हालसम्म प्रयोगमा नरहेका उपकरणहरु प्रयोगमा ल्याएर केएमसीले नवजात शिशु र बाल रोगको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन गरेको हो ।
४० शय्याको नवजात शिशु सघन उपचार कक्ष र १० शय्याको बालरोग सघन उपचार कक्ष गरी बालबालिकाहरुको उपचारका लागि ५० शय्याको अत्याधुनिक उपचार कक्ष सञ्चालनमा ल्याइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।
‘नेपालमा अहिलेसम्म प्रयोग नभएका अत्याधुनिक उपकरणहरु प्रयोगमा ल्याएर बालबालिकाहरुको उपचारका लागि मूलुककै ठूलो सघन उपचार कक्ष सञ्चालन गरेका छौं,’ डा शर्माले भने, ‘यसले नवजात शिशु र बालबालिकाहरुको उपचारमा निकै सहज हुनेछ ।’
उमेर नपुग्दै जन्मिएको शिशुलाई आमाको गर्भ जस्तै अवस्थामा राख्ने जिराफ ओम्निबेड इन्क्यूव्याटर मेशिन र १ किलो भन्दा कम तौल भएका नवजात शिशुलाई फोक्सोको उपचारमा प्रयोग गरिने हाइ फृक्यान्शी ओस्सिल्याटोरी भेन्टिलेटरसहितका उपकरण केएमसीले प्रयोगमा ल्याएको छ ।
यी दुवै मेशिन नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको अस्पतालका बालरोग विभाग प्रमुख प्रा.डा.सुनिल राजा मानन्धरको दाबी छ । उनका अनुसार उमेर नपुग्दै जन्मिएका २६ हप्तादेखि २८ हप्तासम्मको नवजात शिशुलाई यो उपकरणको प्रयोग गरेर बचाउन सकिन्छ ।
केएमसीले प्रयोगमा ल्याएका अत्याधुनिक उपकरणले नवजात शिशु र बाल मृत्युदर कम गर्न सघाउ पुग्ने केएमसीका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । उनी भन्छन्, ‘अत्याधुनिक उपकरणसहित नेपालकै सबैभन्दा ठूलो ४० बेडको एनआईसीयू केएमसीले सञ्चालनमा ल्याएको छ, यती ठूलो एनआईसीयू नेपालमा अन्त छैन । यसले नवजात शिशु तथा बाल मृत्यदर घटाउन सघाउ पुर्याउँछ ।’
केएमसीले यसअघि २५ शय्याको नवजात शिशु सघन उपचार कक्ष र ५ शय्याको बालरोग सघन उपचार कक्ष सञ्चालन गर्दै आएको थियो । शय्या विस्तार गरेर अत्याधुनिक उपकरण प्रयोगमा ल्याई केएमसीले बालवालिकाको सघन उपचार कक्षलाई नेपालकै अब्बल बनाएको हो ।