ललितपुर महानगरमा ९ वडाको गणना सकियो

ललितपुर । ललितपुर महानगरपालिकामा बिहीवार साँझसम्म ९ ओटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी) को दुई र नेकपा एमालेको एक तथा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, ६ मा रूपेन्द्रराज शाक्य, ७ मा कुलबहादुर महर्जन, ८ मा  बाबुरत्न महर्जन र वडा नं १० मा रविन व्यञ्जनकार विजयी भएका छन् । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ । वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सकेनन् । रविनले  ८२५ मत पाएका छन् भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाएका छन् । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रवार मतदान भएपछि शनिवारदेखि मतगणना शुरू भएको थियो । शुरूमा एक ठाउँमा मात्र गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मत परिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ । महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । रासस