‘अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सासु कोषमा आबद्ध गराउनुपर्छ’

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा (सासु) कोषमा सहभागी गराउनुपर्ने बताएका छन् । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा केही दिनअघि सामाजिक सुरक्षा कोष, विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कोषले उद्योगमा कार्यरत मजदूरलाई मात्र नभई पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिए । ‘अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमिकलाई मात्रै समेटेको छ, अनौपचारिक क्षेत्रका श्रमिकलाई त अहिलेसम्म कोषले छोएकै छैन,’ उनले भने । कोशी प्रदेशमा रहेका ९० हजार १९२ रोजगारदातामध्ये हालसम्म १ हजार ९२५ रोजगारदाता मात्र कोषमा सहभागी भएको कोइरालाले उल्लेख गरे । हालसम्म कोशी प्रदेशमा ४६ हजार ६४८ मजदूर मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएको र धेरै संख्यामा मजदूर छूटेकाले उनीहरूलाई कोषमा समेट्न सम्बद्ध पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा औपचारिक क्षेत्रमा २७ र अनौपचारिक क्षेत्रमा ७३ प्रतिशत श्रमिक कार्यरत रहेको जानकारी दिए । ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा श्रमिक आबद्ध भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।  कार्यक्रममा जिफन्ट, कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले महानगरका १९ ओटै वडामा श्रमिक डेस्क राख्न आग्रह गरे । सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक प्रेमबहादुर महतले कोषले योगदानका आधारमा पेन्सनको सुविधा, नि:शुल्क औषधि उपचार, सहुलियत दरमा शिक्षा र घर कर्जा दिइरहेको जानकारी दिए ।