मकवानपुर । दूरबिनको अभाव र जीर्ण संरचनाकै बीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आउनेबित्तिकै नगरपालिकाले पहिलो वर्ष नै ठेक्का आह्वान गरी हेटौंडाको प्रकाश होटल इन्टरनेशनललाई ५ वर्षका लागि ठेक्का दिएको थियो ।
सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाश इन्टरनेशनलबीचको ठेक्का सम्झौता भंग भएपछि बाँकी एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग ५ वर्षका लागि ठेक्का सम्झौता भए पनि सो रिसोर्ट र भ्यूटावर २ वर्षदेखि बन्द छ ।
भ्यूटावरमा दूरबिन राखिदिन नगरपालिकालाई पटकपटक आग्रह गरे पनि सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटल इन्टरनेशनलले जिकिर गर्दै आएको थियो । पछिल्ला २ वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय नै चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्यूटावरबाट हात झिक्यो ।
अहिले नगरपालिकाले यथावस्थामा नै रिसोर्ट तथा भ्यूटावर सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरेको छ । न्यूनतम रू. ३ लाख २० हजार कायम गरी १ वर्षका लागि रिसोर्ट तथा भ्यूटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिए ।
रिसोर्ट र भ्यूटावर सञ्चालनको ठेक्का पाउने व्यवसायीले भ्यूटावर, किचेन, स्टोर, रेष्टुराँ र भ्यूटावर अगाडिको हल मात्र प्रयोग गर्न पाउने नगरपालिकाले जानकारी दिएको छ । ‘यसअघि प्रयोगमा रहेका बेडरूम (लज) प्रयोग गर्न नपाउनेगरी निर्णय भएको छ,’ उनले भने ।
यसअघि नगरपालिकाको कुनै प्रकारको बक्यौता रहेको व्यक्ति, फर्म वा कम्पनीले बोलपत्रमा भाग लिन नपाउने सूचनामा जानकारी दिइएको छ । रिसोर्ट र भ्यूटावर सञ्चालनका क्रममा विद्युत् महशुल र पानी महशुल व्यवसायीले नै बुझाउनुपर्ने तथा रिसोर्ट सुरक्षाका लागि मूलगेटमा सुरक्षा गार्डको व्यवस्था अनिवार्य रूपमा व्यवसायी स्वयंले नै गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।
विसं २०२१ मा निर्माण गरिएको दामन भ्यूटावर लामो समय केन्द्रीय सरकारको मातहत रहेकोमा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिका मातहत आएको थियो । रासस