काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को आठ महीनाको अवधिमा १७ ओटा विकास बैंकमध्ये १२ ओटाले मात्रै खुद नाफामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म पाँच विकास बैंक भने खुद नोक्सानीमा छन् ।
सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक नोक्सानीमा छन् । सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी रू. २५ करोड ७० लाख नोक्सानी व्यहोरेको छ ।
नाफामा रहेका १२ कम्पनीहरूमध्ये मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि छ । यस कम्पनीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म रू. ८७ करोड ३६ लाख नाफा कमाएको हो । त्यस्तै दोस्रोमा गरिमा विकास बैंकले रू. ६६ करोड ३३ लाख नाफा कमाएको छ । यस अवधिमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रू. ५५ करोड ७१ लाख नाफा कमाएको छ ।
नाफामा रहेका कम्पनीहरूमध्ये सबैभन्दा कम ग्रीन डेभलपमेन्ट बैंकले रू. ७६ लाख ३ हजार नाफा कमाएको छ ।