काठमाडौं । भन्सार विभागबाट प्रकाशित तथ्यांकअनुुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा करीब २ अर्ब १६ करोड बराबरको राउटर आयात भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै हालैका वर्षहरूमा नेपालमा राउटरको माग पनि बढ्दो छ । नेपालमा आयात हुने राउटरमा चीनको अंश करीब ९७ प्रतिशत रहेको छ भने ताइवान, चीन, लात्भिया, मेक्सिको र थाइल्यान्डलगायत विश्वका करीब २१ ओटा देशबाट नेपालमा राउटर आयात भएको देखिन्छ ।
राउटरको आयातसँगै यसबापत प्राप्त हुने भन्सार राजस्व पनि उल्लेख्य रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले यसबाट करीब रू. ४० करोड बराबरको राजस्व संकलन गरेको छ । नेपालमा इन्टरनेट सेवा सर्वसुलभ हुँदै गएको तथा इन्टरनेट सेवा अपरिहार्य भइरहेको सन्दर्भमा भविष्यमा राउटरको माग अझ बढ्ने देखिएको छ ।