चिप अभावका कारण कार बुक गरेको एक वर्षपछि मात्रै क्रेतालाई डेलिभरी, सर्भिसिङमा पनि पालो कुर्नु पर्ने !

चिप आधुनिक प्रविधिको ढुकढुकी हो । पेन ड्राइभ, खेलौना, कम्प्युटर, एप्लायन्सेस, रिमोट कन्ट्रोलदेखि ग्राफिक कार्ड, कार, स्मार्टफोनसम्म अहिले चिप प्रयोग नहुने सामान भेट्न मुश्किल छ ।  हेर्दा सानो भएपनि यसको महत्व र प्रयोग अथाह छ । सामान हेरीहेरी औंलामा गन्न सकिनेदेखि हजारौं ओटासम्म चिप प्रयोग हुन्छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर देखिएको चिप संकट अझै पनि मत्थर भइसकेको छैन । महामारीबीच चिपको माग सुस्ताउने अनुमानबीच कम्पनीहरुले धमाधम चिपको उत्पादन घटाए । तर क्रमिक रुपमा विश्वभर आर्थिक गतिविधि बढ्न थालेपछि चिपको माग बढ्यो ।  तर एक्कासी बढेको माग र महामारीका कारण उत्पन्न आपूर्ति चक्रमा अवरोधपछि चिपको अभाव देखिन थाल्यो । विस्तारै चिप संकट नै उत्पन्न भयो ।  पछिल्लो समय युक्रेनमाथि रुसले हमला गरेपछि यो समस्या झनै चुलिएको छ । चिप निर्माणमा सीमित देश वा कम्पनीको वर्चश्वका कारण पनि समस्या बढेको छ । विश्वमा चिपको अभाव केही त्रैमास देखि आगामी वर्षको आधाउधीसम्म रहने विश्लेषण विज्ञहरुले गरेका छन् ।  चिपको अभावले अहिले कयौं उद्योग प्रभावित भएका छन् । यसले एकातिर चिप प्रयोग गरिने उपभोग्य सामानको भाउ बढाएको छ । अर्कोतिर सामान अर्डर गरेपछि सोको प्राप्तिबीचको वेटिङ पिरियड बढाएको छ । आधुनिक चीपमा निर्भर कार उद्योगमा डेलिभरीको लागि कुर्नु पर्ने समय झन झन बढिरहेको छ ।  बजारमा भने जस्तो सामान पाउन मुश्किल छ । कुनै सामान बिग्रिएर बनाउनु पर्यो भने पनि तत्कालै बनिहाल्ने स्थिति छैन । हप्तौंसम्म कुर्नु पर्ने अवस्था छ । आयातित चीपमा निर्भर भारतमै समेत नयाँ कार बूकिङ गरेपछि डेलिभरीका लागि कुर्नु पर्ने समय झन्डै ६ महीनादेखि १३/१४ महीनासम्म रहेको छ । यो अवधि झनै बढ्ने देखिएको छ ।  कम्पनीहरुले डेलिभरी दिन बाँकी कारको संख्या लाखौं नाघिसकेको छ । चिप अभावका कारण अधिकांश सामानको भाउ ३० देखि ४० प्रतिशतले बढेका छन् । कोरोना भाइरसको मारबाट आपूर्ति चक्र उब्रिनै थालेको थियो, युक्रेनी संकटले यसलाई थप बिगारिदियो । बजारको माग धान्न निर्माताहरुलाई केही फिचर घटाएरै भए पनि कार बनाइरहेका छन् ।  यस्तो अवस्था भारतमा मात्रै नभएर विश्वका अन्य बजारमा पनि छ । हुन पनि एउटै कारमा करीब १ हजार ५ सयदेखि ३ हजार ओटासम्म चिप कम्पोनेन्ट प्रयोग हुन्छ । अटो निर्माताहरुसामु फिचर हटाएर कार बनाउने अनि विक्री गर्ने प्रवृत्ति देखिएको छ । केही फिचरहरुलाई पछि रेट्रोफिट पनि गरिएको छ ।  सर्भिसिङ अर्डरमा समस्या  पछिल्लो समय घट्दै गइरहेको विदेशी विनिमय सञ्चितिलाई सम्बोधन गर्न नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा अवस्था झनै खराब बनेको छ ।  ‘बजारमा सामान नै छैन भन्छन्, नयाँ किन्न महँगो छ, खोजेको सामान पाइदैन, बनाउनलाई हप्तौं लाग्छ, नियमित काम नै प्रभावित हुने अवस्था छ,’ कम्प्युटरको मदर बोर्ड बिग्रिएर न्यूरोड बनाउन ल्याएका मनोरथ ढकालले भने ।  चिप अभावका कारण विद्युतीय सामानको मूल्य वृद्धि मात्र नभएर मर्मतमा धेरै समय लाग्ने देखि सामन नै नपाउने सम्मका समस्या उत्पन्न भएको कम्प्युटर व्यवसायी प्रकाश श्रेष्ठले बताए । ‘पहिले पहिले एकै दिनमा मर्मत गरेर दिने कम्प्युटर अहिले ४/५ दिन सम्म पनि मर्मत गरेर दिन सकिदैन । कतिपय पुरानो कम्प्युटरको चिप मिल्यो भने छिट्टो हुन्छ । नयाँ चिप नै फेर्ने अवस्था आउँदा ३ दिन त लाग्छ नै ।’ उनल भने । चार पाङ्ग्रे अटोको सर्भिस सेन्टरमा पनि चिप अभावका कारण तोकिएकै समयमा गाडी मर्मत गर्न कठिनाइ भइरहेको कुलेश्वर स्थित एक सर्भिस सेन्टरका कर्मचारीले बताए । ‘सामान खोज्नै समय लाग्छ । पाए पनि महँगो हुन्छ । यसले सेवा ग्राहीको लागत र समय दुबै बढी खर्च भइरहेको छ ।’ उनले भने । कसरी बनाइन्छ चिप ? चिप बालुवाबाट बनाइन्छ । बालुवाबाट चिप बन्न ७०० भन्दा धेरै प्रक्रियाबाट गुज्रिनु पर्छ ।  शुरुमा बालुवामा भएको सिलिकन डाइ अकसाइडलाई शुद्ध सिलिकनमा परिणत गरिन्छ । यसलाई पातलो चिप्सको आकारमा ढालिन्छ । चिप्सको प्रकार अनुसार सतहको संरचना तयार पारिन्छ ।  फोटो रेजिष्ट लेयरले कोडिङ गरिन्छ । वेफरको सतह कयौं प्रक्रिया पूरा गरेर चाहेको आकारमा काटिन्छ । त्यसपछि सेमिकन्डक्टरको पार्ट्सको इलेक्ट्रिकल कनेक्टीभिटी बढाउन चिपमा डोपन प्रत्यारोपण गरिन्छ ।  त्यसपछिका चरणमा चिपको सारा लेआउट वेफरमा डिपोजिट नभएसम्म प्रसेसिङका कयौं चरण दोहोर्याइन्छ । यसमा वेफरलाई १ हजार १०० डिग्री सेल्सियससम्म तताइन्छ । केही चिपलाई २७ पटकसम्म यसै गरी तताइन्छ ।  २०० ओटासम्म नापजाँच र २६ ओटा एक्सपोजर समेत गर्दा बालुवाबाट चिप बनाउन ७०० ओटा सम्म प्रक्रिया हुन्छ । यो सबै प्रक्रिया पूरा भएपछि माइक्रोचिपका ३० ओटासम्म तहसम्म एसेम्बल गरिन्छ । हरेक तहको आफ्नै काम हुन्छ । यि तहलाई एक अर्कासँग जोड्ने काम निकै जटिल छ । बालुवामा भएको सिलिकनबाट यसरी चिपसम्म बदल्न कयौं प्रकारका रसायन र ग्याँस चाहिन्छ । यसको आपूर्ति विश्वका कयौं देशबाट हुन्छ ।  हालै बजार अनुसन्धाता संस्था काउन्टरप्वाइन्ट रिसर्चले विश्वको चिप अभाव खुकुलो हुन सक्ने बताएको थियो । अधिकांश कम्पोनेन्टको माग र आपूर्तिबीचको अन्तर यस वर्षको उत्तरार्धमा घट्न सक्ने र चिप अभाव क्रमिक रुपमा खुकुलो हुँदै जाने उसको प्रक्षेपण छ ।  पछिल्लो समय इन्टेल, टीएसएमसी लगायत विश्वका ठूलो चिप निर्माताहरुले अर्बौ डलर चिप निर्माणमा लगानी बढाइरहेका छन् ।  तर यिनीहरुको चिप बनाउने कारखाना तत्कादै सञ्चालनमा आइहाल्दैन । यसका लागि केही समय लाग्छ । उत्पादन नै शुरु भएपनि पूर्ण क्षमतामा कारखाना चल्न केही समय कुर्नु पर्छ । त्यसैले उपभोक्ताहरु चिप अभावको मारमा पर्ने क्रममा छिटै अन्त्य हुने देखिएको छैन ।