एउटा मेरो छिमेकी छ । मान्छे उसलाई बहुरुपीया भन्छन् । ऊ राति रक्सी भट्टी र यौनालयमा भेटिन्छ घरमा श्रीमतीलाई एकपति खुराक दिन्छ । बिहान पुराण श्रवण गर्न पुग्छ । टीका थाप्छ । चन्दा दिन्छ र धार्मिक कहलाउँछ । दिउँसो पार्टी कार्यालय धाउँछ र नजरमा पर्छ । चुनावमा टिकट पाउँछ र जित्छ । बेलुका गुण्डा नाइकेलाई निर्देशन दिन्छ र हप्ता असुली गर्छ । नैतिक आदर्शको कुरा टेलिभिजनमा गर्छ र बाबुआमालाई वृद्धाश्रम पुर्याउँछ । एन्टीधारको कुरा गर्छ र प्रखर बौद्धिक ठानिन्छ ।