कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन मन्त्रालयको निर्देशन

माघ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।  कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो ।  छानबिन समितिले ६ ओटा जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई बुधवारसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा गुणराज लोहनीले जानकारी दिए ।  मन्त्रालयले खोपको एकीन तथ्यांक नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।  यसअघि समितिले यही माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातोटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ ओटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ ओटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो । रासस