सरकारको ढुकुटीमा अहिले खर्बौं रकम छ तर पूँजीगत खर्च केवल २२ प्रतिशतमात्र भएको छ । यसले गर्दा देशमा आर्थिक समस्या छाएको छ । आर्थिक समस्याबाट जोगिने धेरै उपाय मध्य एक हो : देशको पूँजीगत खर्चमा वृद्धि गर्नु । तर, दुर्भाग्य यही बेला देशको एक थान उपराष्ट्रपतिको चुनावको कारण देखाउँदै मन्त्रिमण्डल विस्तार नै रोकिएको छ । फलस्वरूप पूँजीगत खर्च अपेक्षित रूपमा हुन सकेको छैन । यसले नेपालको विकासलाई प्रतिकूल असर पुर्याइरहेको छ । किन हाम्रा नेता र नीति निर्माताहरू यस्तो गम्भीर विषयमा संवेदनशील हुन सकेका छैनन् ? के एक थान उपराष्ट्रपतिका लागि यसरी विकास निर्माण प्रभावित गर्नु उचित हो ? होइन भने किन मन्त्रिमण्डललाई पूर्णता दिई पूँजीगत खर्च विस्तारमा सम्पूर्ण शक्ति नलगाएको ? यसको जवाफ अरूले भन्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुपर्छ ।
एकातिर उहाँ यसपालि आफ्नो नेतृत्वको सरकारले देश र जनताको भलाइका लागि कुनै कसर बाँकी नराख्ने, आफ्ना लागि काम गरेर देखाउने यो अन्तिम अवसर हो भन्दै हुनुहुन्छ अर्कोतिर सबै मन्त्रालय आफै राखेर पूँजीगत खर्चमा बाधक बन्नुभएको छ । यस्तो पाराले प्रधानमन्त्री सफल बन्न सक्नु हुँदैन । सफल बन्ने हो भने तुरुन्त मन्त्रिमण्डल विस्तार गरी पूँजीगत खर्च बढाउनुपर्यो । यो बढ्नासाथ राष्ट्र बैंकको ढुकुटीमा रहेको पैसा बजारमा जान्छ जसले रोजगारी र उत्पादन वृद्धिमा सघाउ पुर्याउँछ ।
मानिसहरूको उपभोग क्षमता बढ्छ जसले औद्योगिक उत्पादन बढाउँछ । फलस्वरूप आर्थिक गतिविधिमा वृद्धि भई देशको अर्थतन्त्र नै चलायमान बन्छ । के प्रधानमन्त्री र उहाँको आर्थिक सल्लाहकारले जाबो यति कुरा पनि नबुझेका होलान् त ? अनि बुझेको हो भने मन्त्रिमण्डल विस्तार गरी पूँजीगत खर्च गर्न कुन अदृश्य शक्तिले रोक्यो त ? प्रधानमन्त्रीले जनतालाई जवाफ दिनुपर्छ । कुन उद्देश्यका लागि मन्त्रिमण्डल विस्तार रोकिएको हो ?
अहिले प्रधानमन्त्री एक्लैको काँधमा १६ मन्त्रालयको जिम्मेवारी छ । ती मन्त्रालयको कुनै काम गराउन परे अहिले सचिवहरू नै लाइन लाग्नुपर्ने अवस्था छ रे । सचिवको तहबाट विकास निर्माण र पूँजीगत खर्चका ठूला काम हुन सम्भव छैन । उता मन्त्रीका कुर्सीहरू खाली छन् । यस्तो पाराले कसरी देशको विकास हुन सक्छ प्रधानमन्त्रीज्यू ? आफू पनि नभ्याउने अनि मन्त्रिमण्डललाई पनि पूर्णता नदिने तपाईंको कामले गर्दा विकास निर्माणलाई कोसौं टाढा पुर्याएको छ । प्रतिकूल असर पुर्याएको छ । कमसे कम यस्तो कुरामा त संवेदनशील हुनुहोस् । ३ करोड जनताको भविष्य एकजना प्रधानमन्त्रीको हातमा हुन्छ भनेर ख्याल गर्नुहोस् प्रधानमन्त्रीज्यू । विकास निर्माणको दृष्टिले तपाईंको ७५ दिन व्यर्थ खेर गयो । अब खेर जान नदिनोस् । उपराष्ट्रपतिको चुनाव भनेर पर्खने काम नगरौं । एक थान उपराष्ट्रपतिको कारण देखाउँदै विकास निर्माणमा असर पुर्याउने काम भएमा इतिहासले तपाईंलाई माफ गर्नेछैन । कृपया यस्तो कुरामा संवेदनशील बन्नुहोस् ।
गोपाल देवकोटा
गोकर्णेश्वर ८ , काठमाडौं ।