निजी क्षेत्रलाई अर्थमन्त्रीले भने : अर्थतन्त्र सुधार हुँदै गएको छ, सूचना र तथ्यांकका आधारमा बोल्नुहोस्

भरतपुर । अर्थमन्त्री प्रकाश शरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गरेका छन् ।  चितवन उद्योग वाणिज्य संघको ५७औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्रीले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएकाले उद्योगी–व्यवसायीले नकारात्मक सोचबाट मुक्त भई व्यवसाय गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा सुधार देखिन थालेपछि विदेशी लगानीकर्ता आउन थालेका बताउँदै उनले व्यवसाय गर्नेहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए । “उद्योगी व्यवसायी नै नकारनात्मक सोचका साथ हिँडेपछि कसरी अर्थतन्त्रमा सुधार हुन्छ ”, उनले प्रश्न गरे । नियोजित किसिमले झुट्टा प्रचार हुँदा समाजमा नकारात्मक प्रभाव परेको बताए । अर्थतन्त्रका समस्या पूर्णरूपमा समाधान नभए पनि विगतको तुलनामा अहिले केही सुधार हुँदै गएको उनको भनाइ थियो । उनले भने “अर्थतन्त्रमा दबाब छ, तर समस्या छैन । पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागेको छ ।” सरकारले अनुत्पादक क्षेत्रको बजेट नियमन गर्न लागेको उनले बताए । बैंकहरुको लगानी शेयर बजार र जग्गामा धेरै हुँदा अहिले समस्या देखिएको भए पनि यसलाई खुकुलो गरिएको बताउँदै उनले भने “सबै लगानी अनुत्पादक क्षेत्रमा भएपछि राष्ट्र बैंकले कठोर मौद्रिक नीति बनायो जसका कारण समस्या आयो । अहिले यसलाई बिस्तारै खुकुलो बनाउँदै लगिएको छ ।” उनले थपे ‘यथार्थ कुरा ग्रासरुटमा पुग्छ । होइन भने तपाईंहरुले प्राप्त गर्न खोजिरहेको कुरा विपरित परिणाम आउँछ ।’ तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरियो भने व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री डा. महतले बताए । उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित बस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्न मन्त्री डा. महतले आग्रह गरे ।  अर्थतन्त्र समस्यामा थियो, अझै तहमा पुर्‍याउन धेरै गर्न बाँकी रहेको उनले स्पष्ट पारे । उनले भने, ‘राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न बाँकी छ । देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ । अहिले औषतमा मूल्यवृद्धि घटिरहेको छ ।’ अर्थतन्त्र विस्तारै लयमा फर्किदैछ गरेको बताउँदै  विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्न नहुने तर कुनै व्यक्तिलाई विदेश नजान भनेर रोक्न नसकिने भन्दै देशमै दक्ष्य जनशक्तिको अभाव भइरहेको बताए । उनले भने, ‘विदेश जाउँ भनेर सरकारले प्रोत्साहन गर्दैन, तर जानै पाउँदैनौं भन्न सक्दैनौं । साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा कुनै सत्यता छैन । दबाब अवश्य छ, हाम्रो साधारण खर्चमा काहिँकतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ । ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई धनी गरिब जे भए पनि ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ ।  विदेशी ऋणको साँवा ब्याज र सामाजिक दायित्वमा धेरै खर्च हुने भएकाले पूँजीगत खर्च हामीसँग धेरै बच्दैन यो कुरा सत्य हो, साधारण खर्च पनि थेग्न सक्दैन भन्ने कुरा असत्य भएको मन्त्री डा. महतले स्पष्ट पारे । अर्थमन्त्रीले निर्माण व्यवसायीलाई सरकारले माघअघि नै भुक्तानी दिने र माघपछि सबैको दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौ, नभएको माघपछि काम गरिसकेको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौ । काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन । विप्रेषणको भरमा मात्र अर्थतन्त्र चलायमान नभएको बताउँदै उनले त्यसमा राजश्वको पनि योगदान रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको बताए । उद्योगी–व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानका लागि सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिए । अहिले अर्थतन्त्रमा देखिएको समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने उनले बताए । अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनैपर्छ भने ।             उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकार उद्योगी–व्यवसायीको पक्षमा रहेका बताए । त्यस अवसरमा आर्थिक पत्रकारिता पुरस्कारबाट आर्थिक अभियान दैनिकका चितवन संवाददाता सूर्यप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो । उनलाई नगद रु ५१ हजार सहित सम्मानित गरिएको हो । दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै साधारणसभा यही पुस २३ गते सम्पन्न हुनेछ । संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र उपाध्यक्ष शिरिष पन्तबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित सामग्री