संक्रमण कम नभएपछि कडाई गर्दै १० दिन थपियो चितवनमा निषेधाज्ञा

साउन ३१ ,चितवन । जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट जारी गरिने निषेधाज्ञालाई केही कडाई गर्दै १० दिन थप गरेको छ । दैनिक रुपमा कोरोना संक्रमण भीडभाडकै कारण बढेको देखिएकोले प्रशासनले निषेधाज्ञामा कडाई गरेको हो  ।  प्रशासनले आइतवार आदेश जारी गर्दै भादौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्यााउने निर्णय गरेको हो  । जारी निषेधाज्ञा साउन ३२ गते १२ बजे सकिदैछ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेश अनुसार भाद्र १ गतेदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक अन्य नियमित सेवा प्रवाह बन्द गरिने भएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जनमानसबाट र सर्वपक्षीयको सुझाव अनुसार भीडभाड हुने यी सरकारी कार्यालय बन्द गरिएको जानकारी दिए । ‘सबैतिरबाट यी भीड हुने कार्यालय बन्द गर्नुपर्ने सुझाव आयो, भट्टराईले भने, संक्रमणदर कम नभए यही बीचमा आदेश संशोधन गर्न पनि सकिन्छ ।’ यी कार्यालय बाहेक अन्य कार्यालय भीड नदेखिएको र स्वास्थ्य मापदण्ड प्रयोग गरी सञ्चालन गर्न सुझाव दिइएकोले सोही अनुसार सेवा प्रयोग गर्नुपर्ने उनले बताए । स्थानीय तह, वडा कार्यालयहरुको हकमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नु पर्नेछ । सार्वजनिक यातायातको हकम जोर विजोर प्रणाली लागू गर्दै सवारीसाधन निसंक्रमित गर्दै भौतिक दूरी कायम गर्दै सीट क्षमता भन्दा यात्रु नराख्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधन चढ्न निशेध गर्नुपर्ने आदेशमा उल्लेख छ । अन्य नियम जारी निषेधाज्ञाका अनुसार नै सञ्चालन हुने आदेशमा उल्लेख छ ।