म्याग्दी । यस वर्षको मनसुन शुरू भएयता बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।
पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले ९ लाख ६० हजार र मृतक दुई जनाका परिवारलाई ३ लाख राहत उपलब्ध गराएको छ । पाँच जनासम्म सदस्य भएका परिवारलाई १५ हजार र पाँच जनाभन्दा बढी संख्यामा सदस्य भएका परिवारलाई २० हजारका दरले राहत वितरण गरिएको सहायक प्रजिअ
पौडेलले बताए ।
पहिरोबाट घर भत्किएका तथा जोखिममा परेर विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन तथा सामूहिक टहरा बनाएर बसेका छन् । अन्नपूर्ण गाउँपालिकाको धोस्केखोर, रघुगंगाको बेग, बेनीको सिंगा तातोपानी, मंगलाको अर्मन, मालिकाको रूम र धवलागिरिको खोरियामा पहिरोले क्षति पुगेको छ । गतवर्षको बर्खामा भत्किएका घर पुनःनिर्माणका लागि पर्याप्त बजेट नआउँदा प्रभावित भएको छ । रासस