माघ २९, नयाँदिल्ली । भारतको व्यापारिक समूह टाटा सन्सले अध्यक्षमा पुन : एन चन्द्रशेखरनलाई आगामी पाँच सालको लागि कार्यकारी अध्यक्षमा चयन गरेको छ ।
कम्पनीको शुक्रवार बसेको बैठकले उक्त निर्णय गरेको हो । हुन त यसको पूर्वानुमान पनि थियो । किनकि ५८ वर्षिय उनका लागि कम्पनीका संस्थापक रतन टाटाले सिफारिश गरेका थिए । बैठकमा रतन टाटालाई पनि विशेष रुपमा आमन्त्रित गरिएको थियो ।
कम्पनीले एउटा बयानमा बैठकले चन्द्रशेखरनको अगुवाईमा समूहको प्रगति तथा प्रदर्शनमा सन्तोष व्यक्त गर्नुका साथै उनलाई पाँच वर्षका लागि अर्को एक कार्यकाल दिने सिफारिश गरेको बताएको छ ।
बैठकले उदाहरण कायम गर्न, कर्मचारी र संगठनलाई प्रेरित गर्न एवं व्यवसायिक व्यवहारिकता सुनिश्चित गर्न उनले उत्कृष्ट कदम चालेको पनि बताएको छ । हाल टाटा ट्रष्टका अध्यक्षसमेत रहेका रतन टाटा, टाटा सन्सका मानार्थ अध्यक्ष पनि छन् ।
बयानमा भनिएको छ - ‘बोर्डका सदस्यहरुले आपसी सहमतिमा कार्यकारी अध्यक्षको प्रदर्शनको सह्रना गर्नुका साथै दोस्रो कार्यकालका लागि सहमति व्यक्त गरेका छन् ।’ टाटा ट्रष्टको टाटा सन्समा ६६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
यसअघि टाटा सन्सका अध्यक्ष र समूह अन्तर्गतका सबै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले इतिहासमै पहिलो पटक कम तलब लिने घोषणा गरेका थिए । इतिहासमा कहिले पनि कोरोना महामारीको यस्तो समय नआएको र व्यवसायको सुरक्षाको लागि कठोर कदम चाल्ने बेला आएको भन्दै उनीहरुले कम तलब लिने स्वघोषणा गरेका थिए ।
समूहमा सबैभन्दा धेरै मुनाफा कमाइरहेको कम्पनी टाटा कन्सलटेन्सी सर्विसेज(टीसीएस) यस्तो घोषणा गर्ने पहिलो कम्पनी थियो ।
यसअघि टाटा सन्सको पूर्व अध्यक्षमा साइरस मिस्त्री थिए । भारतको सर्वोच्च अदालतले उनलाई दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न नसक्ने फैसला सुनाएको थियो। सन् २०१६ मा उनी साइरस मिस्त्रीको बहिर्गमन भएको थियो ।
टाटा ग्रूप अन्तर्गत टाटा स्टिल, टाटा मोटर्स, टाटा पावर, ट्रेन्ट, टाटा इन्टरनेशनल, टीसीएस, टाटा क्यापिटल र भोल्टास आदि रहेका छन् । एजेन्सी