अमेरिका । फोर्ब्सले सन् २०२४ मा विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार विश्वभर अर्बपतिको संख्या २ हजार ७८१ पुगेको छ, जसमा १४१ नयाँ अनुहार छन् ।
सूचीअनुसार विश्वमा अर्बपतिको संख्या मात्रै होइन, उनीहरूको संयुक्त सम्पत्ति पनि बढेको छ । अर्बपतिहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलरभन्दा बढी रहेको बताइएको छ ।
विश्वभर बढिरहेको मुद्रास्फीतिको दबाब, महामारीको प्रभाव, दुई वटा युद्ध र विश्वमा विद्यमान अस्थिरताले अर्बपतिहरूलाई निकै कम वा लगभग कुनै प्रभाव पारेको छैन । विगत १० वर्षको ‘ट्रेन्ड’ हेर्दा उनीहरूको सामूहिक सम्पत्ति १२० प्रतिशतले बढेको छ ।
बर्ना आर्नो लगातार दोस्रो वर्ष शीर्षमा
उक्त सूचीको शीर्ष स्थानमा बर्ना आर्नो छन् । विश्वको अग्रणी विलासी सामान कम्पनी एलभिएमएचका अध्यक्ष र सीईओसमेत रहेका आर्नो गत वर्ष (सन् २०२३ मा) पनि यो सूचीमा शीर्षमै थिए । उनको कुल सम्पत्ति २३३ बिलियन डलर छ । गत वर्षको तुलनामा उनले २२ अर्ब डलरभन्दा बढी कमाएका छन् ।
यो सूचीको दोस्रो स्थानमा टेस्लाका सीईओ एलोन मस्क छन् । उनको सम्पत्ति १९५ अर्ब डलर छ । अमेजनका जेफ बेजोस यो सूचीको तेस्रो स्थानमा छन् । उनको कुल सम्पत्ति १९४ बिलियन डलर छ ।
अर्बपतिमा अमेरिकाका धेरै
अर्बपतिको सूचीमा सबैभन्दा धेरै अमेरिकाका छन् । उक्त सूचीमा अमेरिकनको संख्या ८१३ छ, उनीहरूको कुल सम्पत्ति ५.७ ट्रिलियन डलर छ । सर्वाधिक अर्बपतिको हुने देशमा दोस्रोमा चीन (हङकङसहित) छ, त्यहाँका अर्बपतिहरूको कुल सम्पत्ति १.७ ट्रिलियन डलर छ । यो सूचीमा भारत भने तेस्रो स्थानमा छ, त्यहाँ अर्बपतिको संख्या २०० छ, उनीहरूको कुल सम्पत्ति ९५४ अर्ब डलर छ ।
को–को थपिए नयाँ अनुहार ?
सन् २०२४ को अर्बपतिको सूचीमा थपिनेमा अमेरिकी पप स्टार इराज टोरे, गायिका टेलर स्विफ्टलगायत छन् । सूचीमा सबैभन्दा धनी नयाँ आगमन इटालीको आन्द्रिया पिन्नातारो (आन्द्रिया पिन्नातारो आईओन समूह) हो, उनको अनुमानित कुल सम्पत्ति २७.५ बिलियन डलर छ ।
टेलर स्विफ्ट अर्बपतिको हैसियत हासिल गर्ने पहिलो कलाकार भएकी छन् । उनको कुल सम्पत्ति १.१ बिलियन डलर छ । एजेन्सी