पुस २६, काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहमा दर्ता स्टेशन थप गर्ने तयारी भएको छ ।
हाल सेवा उपलब्ध गराइएका दर्ता स्टेशनमा सेवाग्राहीको भीड बढेको भन्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विवरण प्रविष्ट (लाइभ इनरोलमेन्ट) हुने गरी इलाका प्रशासन कार्यालय र स्थानीय तहमा दर्ता स्टेशन थप गर्न लागेको हो ।
तर सबै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट गर्न सकिने भएपनि धेरैजसो सेवाग्राही काठमाडौंमै आउने गरेका छन् ।
ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएसँगै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने सेवाग्राहीको संख्या बढेको छ ।
काठमाडौंमा सेवाग्राहीको चाप नरोकिएपछि विभागले दर्ता स्टेशन थप्ने तयारी गरेको जानकारी दिएको छ ।
यसअघि काठमाडौं आउने सेवाग्राहीलाई लक्षित गर्दै विभागले तीन ठाउँमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिने व्यवस्था ल्याएको थियो ।
यसअन्तर्गत बागमती प्रदेशका भक्तपुर र ललितपुरबाहेक सबै जिल्लाका सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट परिचयपत्र बनाउन सक्नेछन् ।
त्यस्तै, ललितपुर जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सेवाग्राहीले ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् ।
प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सेवाग्राहीले नारायणी दरबार परिसरबाट राष्ट्रिय परिचयपत्रका लागि फर्म बुझाउन सक्नेछन् ।
यी स्थानमा समेत सेवाग्राहीको चाप बढेपछि विभागले थप दर्ता स्टेशन सञ्चालनमा ल्याउने तयारी गरेको हो ।