विलासी वस्तु आयात नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं (अस) । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर उद्योग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । उहाँले काठमाडौंलाई व्यापार हबका रूपमा विकास गर्न यो बन्दरगाहले थप टेवा पुर्‍याउने बताउनुभएको छ । यो बन्दरगाहले भन्सार जाँचपास सजिलो बनाउने भन्दै प्रधानमन्त्री देउवाले अन्य स्थानमा पनि पूर्वाधार विकास गरिने बताउनुभयो । नेपालको सीमा नाकाबाहेक अन्यत्र निर्माण भएको यो पहिलो बन्दरगाह हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघमा यसको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको ३ वर्षपछि बन्दरगाहको उद्घाटन भएको छ । उद्घाटनका दिन वीरगञ्जबाट आएका चारओटा मालवाहक सवारी साधन यो बन्दरगाहमा प्रवेश गरेका थिए । बन्दरगाह मंगलवारदेखि नै सञ्चालनमा आएको छ । बन्दरगाह १ अर्ब ६० करोड रुपैयाँ लागतमा २ सय २० रोपनीमा निर्माण भएको हो । यसको निर्माण गत असोजमा सम्पन्न भइसकेको थियो । अब व्यवसायीले यहाँबाट सीधै सामान आयात–निर्यात गर्न सक्नेछन् । डेढ वर्षमा बन्दरगाह निर्माण गरिसक्ने भनिए पनि ३२ महीना लागेको थियो । कोभिड–१९ लगायत कारण निर्माणमा ढिलाइ भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनले उद्घाटनसँगै बन्दरगाह सञ्चालनमा आएको बताए । वीरगञ्जबाट मालवाहक गाडी ल्याएर बन्दरगाह सञ्चालन गरिएको उनको भनाइ छ । उनका अनुसार अब आयात–निर्यातकर्ताले यो बन्दरगाहबाट वीरगञ्जको जस्तै सुविधा पाउनेछन् । बन्दरगाह सञ्चालनको सबै तयारी भइसकेको उनको भनाइ छ । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आयात–निर्यातकर्ताका लागि यो बन्दरगाह कोशेढुंगा साबित हुने बताए । सुक्खा बन्दरगाह सञ्चालनमा आउँदा ढुवानी लागतदेखि भन्सार जाँचपासजस्ता विषयमा सहज हुने भन्दै उनले थपे, ‘यसको सफल र बढी प्रयोगका लागि फास्ट ट्र्याक नीति ल्याउनुपर्छ भने रेलवे लिक जोड्नु पनि आवश्यक छ ।’ अहिले व्यापारघाटा सबैभन्दा ठूलो समस्या भएको भन्दै उनले नेपालले उत्पादन गर्ने वस्तुको लागत कटौती र गुणस्तरमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आयात–निर्यातको ५० प्रतिशत अंश काठमाडौं उपत्यकामा रहेकाले बन्दरगाह सञ्चालनले व्यापार, व्यवसाय सहज हुने बताए । काठमाडौं सामान ल्याउन र यहाँबाट निर्यात गर्न वीरगञ्ज, भैरहवालगायत भन्सारमा जानु नपर्ने अवस्था आएको उनले बताए ।