कौसी खेतीमा मिनी टनेल

काठमाडौं । बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन पनि मासिँदै छ भने खेती गर्ने प्रचलन पनि साँघुरिँदै छ । तर, कोरोना भाइरसका कारण र त्यसपछिको बन्दाबन्दीमा घरका छत तथा कौसीमै भए पनि खेती गरौं र आफ्नो भान्सामा प्रयोग हुने तरकारीहरू आफैं फलाऔं भन्ने सोचले सहर बजारमा गति लिएजस्तो देखिएको छ । अहिले कहीँकतै घरधनी तथा उपभोक्ताले खेती गरेको देख्न पाइन्छ । कतिपय युवा उद्यमीहरूले कौसी खेतीलाई नै लक्षित गरी व्यवसाय सुरु गरेका छन् भने अर्काेतर्फ कौसी खेती तरकारीले गर्जाे टार्नेमा सहायक भूमिका वहन गर्दै छ । त्यसभन्दा पनि सहरको कोलाहल, कंक्रिटका भवनबीच छतमा हरियालीद्वारा मानिसलाई आराम तथा शान्त दिने माध्यम पनि बनेको छ । घरमै कुहिने वस्तुको उपयोग पनि सोही खेतीमा हुने गर्छ । बन्दाबन्दीपछि कौसी खेतीको प्रयोग बढेको देखिएको छ । घरधनी तथा उपभोक्ताले आफ्नै तरिकाले गमला, बोरामा माटो भरेर खेती गरेको देखिन्छ भने कतिपय कृषिका जानकार तथा उद्यमीसँग सल्लाह गरेर खेतीमा जोडिएका छन् । घरको छतमा सिजनअनुसार तथा अफ सिजन तरकारी पर्याप्त मात्रामा उत्पादन गर्न इच्छुक हुनुुहुन्छ भने तपाईंलाई मिनी टनेल उपयुक्त प्रविधि हुन सक्छ । कौसीबारी नै भनेर काम सुरु गरेको १ वर्ष भए पनि ५ जना कृषि उद्यमी, प्राविधिक तथा अध्ययनकर्ता मिलेर २०१७ सालमा अभियान एग्रो नामक कृषि बिजनेस कम्पनी स्थापना गरे । उनीहरूले हालै घरको छतमा मिनी टनेलको प्रयोगमार्फत प्रशस्त तरकारी फलाउन सकिने प्रविधिको विकास गरेका छन् । अभियान एग्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास पण्डित खासगरी बर्खायाम र चिसो सिजनमा खेती गर्न   मिनी टनेल उपयुक्त हुने बताउँछन् । ‘छतमा गरिने खेतीमा बर्खामा पानी र जाडो याममा शीतबाट जोगाउन यो प्रविधिको प्रयोगबाट तरकारी उत्पादन गर्न सकिन्छ,’ पण्डितले भने, ‘जसले अर्डर गर्नुहुन्छ, उहाँकहाँ सामान मात्रै नपु¥याएर, त्यसलाई चाहिने सबै सामग्री सेट गरिदिने र पछि फलोअप पनि गर्ने गरेका छौं ।’ सेटअप गरिदिँदा तरकारीको बिउ छर्ने, रोप्ने र पछि कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने सिकाउने गरेको उनी बताउँछन् । दुई वटा मोडलमा टनेल बनाएको भन्दै उनी भन्छन्, ‘एउटा चार फिट चौडाइ र १० फिट लम्बाइ छ, किनभने घरको छतको स्पेस नै कम हुने भएकाले टनेलभित्र भन्दा पनि वरिपरिबाटै गोडमेल, फलेको तरकारी टिप्न सक्ने गरी मोडल बनाइएको हो भने अर्काे ५ फिट चौडाइ र ६ फिट लम्बाइको छ ।’ चार फिट चौडाइ र १० फिटको मिनी टनेल सेटअप गर्दा २५ हजार खर्च हुन्छ भने ५ फिट चौडाइ र ६ फिट लम्बाइको टनेल राख्दा भने २० हजार रुपैयाँसम्म खर्च हुन्छ । यसमा मल, माटो, बिउ, थोपा सिँचाइ, त्रिपाललगायत आवश्यक सबै सामग्री हुने उनको भनाइ छ । नयाँ वर्ष अफरस्वरूप  कम्पनीले वैशाख १५ गतेसम्मका लागि दुवै खाले टनेल खरिद गर्दा ५ प्रतिशत छुट दिएको छ । २५ केजी मल, ४० केजी माटो, ५० लिटरको ड्रमलगायतका सामग्री दिने र सिजनअनुसारको बिउ सिफारिसका लागि सल्लाह  दिने गरेको उनले बताए । कौसी खेती गरेपछि बेलाबेला कम्पोस्ट मल राख्ने, गोडमेल गर्ने र केही रोग तथा किरा आए प्राविधिकको सल्लाह लिन आवश्यक छ ।

सम्बन्धित सामग्री

तेस्रो कौसी क्वीन हुँदै

‘तेस्रो कौसी क्वीन–२०७९’ आयोजना हुने भएको छ । कौसी खेती प्रवद्र्धनका लागि आयोजना गरिने सो कार्यक्रमका लाग आवेदन खुल्ला गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठले बताए ।प्रतियोगितामा भाग लिनका लागि भदौ १० गतेसम्म १० मिनेटसम्मको भिडियो (परिचयात्मक) र १० वटा वर्किङ फोटो पठाउनु पर्ने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट विजेताले छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजार बराबरको टनेल निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।त्यस्तै, फस्ट रनरअपलाई एक लाख तथा से

घरको छत उपयोगमा विकल्प हुन सक्छ रुफटप मोडुलर फार्म

काठमाडौं । अहिले सहर–बजारका घरमा कौसी खेती गर्ने प्रचलन बढ्दो छ । सहरी क्षेत्रमा खेती गर्ने जमिन खुम्चिँदै जाँदा घरका छतमा सानो गमला राखेरै भए पनि खुर्सानी फलाउने लहर चलेकै छ । घरको खाली छतलाई उपयोग गर्न रुफटप मडुलर फार्म विकल्प बन्न सक्छ । रुफटप मडुलर फार्म कौसीबारी नै हो । खाली छतको सदुपयोग गर्न यो विधि अपनाइने गरेको अभियान एग्रोका संस्थापक सुवास पण्डित बताउँछन् । उनका अनुसार यसमा घरधनी आफैंले घरमा रहेका सामग्रीको प्रयोग गरेर सेटअप गर्न सक्छन् । जस्तै, प्रयोगमा नआउने बाँटा, ड्रम, बाक्लो प्लास्टिक, बोरामा माटो भरेर आफूलाई अनुकूल हुने तरकारी, विभिन्न फलफूलका साथै फूल लगाउन पनि सकिन्छ । काठमाडौंमा कौसीबारी अभियानलाई अघि बढाएको उनको समूहले घरको छत तथा  कौसीमा टनेल खेतीमा सघाउँदै आएको छ । कौसीमा टनेल राखेर सिजनल तरकारी खेती अर्थात् आफ्नै परिवारलाई पुग्ने तरकारी उत्पादन गर्न रुफटप मडुलर फार्म बनाउन सकिने बताउँछन्, पण्डित । बन्दाबन्दीका कारण घरमा बस्ने समय यसको माग बढी भएको र हालसम्म ८१ वटा टनेलमार्फत घरधनीलाई टनेलबाट खेती गर्न सिकाएको उनले बताए । पछिल्लो समय कौसी खेती गर्ने प्रचलन बढेसँगै टनेलमा पनि आकर्षण बढेको उनको बुझाइ छ । आफ्नो घरको छत अथवा कौसीमै मिनी टनेल, रेज्ड बेड अथवा फलामको स्ट्यान्ड राखेर अर्गानिक तरकारी खेती गर्न र खान सकिने उनको भनाइ छ । यसले छत तथा कौसीको मात्र उपयोग हुँदैन, स्वास्थ्य पनि राम्रो हुने, घर वरिरि हावा राम्रो हुने, घर राम्रो देखिने, थोरै भए पनि कसरत हुने र घरको बजेट बचत हुनेजस्ता फाइदा हुने पण्डित सुनाउँछन् । बर्खायाम सकिन लाग्दै गर्दा के–कस्ता बिरुवा, तरकारी लगाउने सोचमा हुनुहुन्छ भने अब काउली, बन्दा, सिमी, गोलभेडाजस्ता हिउँदे तरकारीका बिरुवा उमार्न अबको  समय उपयुक्त हुन्छ । अहिले लहरे तरकारी खेती गर्नुभएको छ भने  त्यसलाई केही समय राखेर पनि बिउ रोप्न सकिन्छ । अहिले नै हतार गरिहाल्नुपर्दैन । तर, समयमै हिउँदे तरकारीको बिउ राख्दा छिट्टै उपयोग गर्न पाइन्छ । घरको बाँकी र खाली रहेको हिस्सामा आफूलाई मन परेका तरकारी लगाउन सकिन्छ । यसले घरमा विषादीयुक्त तरकारी प्रयोग रोक्न सकिन्छ भने अर्काेतर्फ घरमै रहेका कुहिने फोहोरलाई पनि यी खेतीमा  प्रयोग गर्न सकिन्छ ।