उपत्यकाको विद्युत् वितरण प्रणाली सुधारका लागि आठ सबस्टेशनको निर्माण धमाधम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ ओटा सबस्टेशन निर्माण गरिरहेको छ । उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेशन निर्माणाधीन छन् ।   सन् २०५० को सम्भावित विद्युत् मागलाई सम्बोधन गर्न प्राधिकरणले समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।  काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेशन निर्माणाधीन छन् । टेकु र चाँगुनारायणका सबस्टेशन निर्माणको अन्तिम चरणमा छन् । दुवै सबस्टेशन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो  माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेशन आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।  कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सबस्टेशनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सबस्टेशनहरूको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।  ‘यस वर्षको जाडोमा काठमाडौं उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडि नै सबस्टेशनको निर्माण सक्नुपर्छ,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘टेकु र फुटुङ सबस्टेशन निर्माण सम्पन्न भएपछि काठमाडौंको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।’  टेकुस्थिति ६६/११ केभी सबस्टेशनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेशन निर्माण भइरहेका छन् । दुवै सबस्टेशनमा ४५/४५ एमभीए क्षमताका दुई ओटा पावर ट्रान्सफर्मरहरू राखिनेछ । बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेशनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । काठमाडौंको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउन टेकु सबस्टेशनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि नौ ओटा नयाँ फिडर निकालिनेछ ।  काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सबस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजनाहरू सञ्चालित छन् ।  नेपाल सरकार तथा प्राधिकरणको लगानी,  एशियाली विकास बैंक (एडीबी) र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूणर् ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ ।   काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूणर् मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेशनमा ४५ एमभीए क्षमताका दुइटा पावर ट्रान्सफर्मरहरू रहनेछन् ।  सुक्खाबन्दरगाह नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ ।  चोभारमा सबस्टेशन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुर्‍याइनेछ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिनेछ । ललितपुर क्षेत्रमा स्युचाटार-पाटन-वानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।  स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४०० र २२०/१३२/११ केभी सबस्टेशन निर्माण शुरू हुन सकेको छैन । तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेशन निर्माण गर्न लागिएको हो । लप्सीफेदीबाट चाँगुनारायण सबस्टेशनसम्मको करीब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ ।

सम्बन्धित सामग्री

‘ब्याकअप’ विनाको विद्युत् प्रणाली

देशभरकै विद्युत् वितरण प्रणाली यति कमजोर छ कि एउटा सबस्टेसनमा एउटा ट्रान्सफर्मर वा फिडरमा समस्या पर्दा अर्को सबस्टेसनबाट लाइन दिन सकिने अवस्था छैन । प्रणालीलाई बलियो बनाउन राजधानीभित्रै अघि बढाइएका सुधारका योजनाहरु पनि अलपत्र हुँदा जनता कतिबेला अँध्यारोमा पर्छन्, टुंगो छैन ।