साेलुखोला जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना, १ कामदार बेपत्ता, १ घाइते

सोलुखुम्बु – निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकाेशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक कामदार बेपत्ता भएका छन् । आज (बिहिवार) बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना कामदार हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी...

सम्बन्धित सामग्री

माथिल्लो त्रिशूली ३ ‘बी’को निर्माण पुनः शुरू

काठमाडौं । कोभिड–१९ को महामारीको चपेटामा परेको ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको काम पुनः शुरू भएको छ । नयाँ वर्ष मनाउन २०७६ माघ दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड–१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्णरूपमा काम भइरहेको आयोजनाको निर्माण करीब १४ महीना ठप्प भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युत्गृह लगायत संरचना निर्माण गरिरहेको आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिक खटिएका छन् । ‘नयाँ वर्ष मनाउन २०७६ को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरू कोभिड–१९ का कारण फर्कन नसक्दा करीब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि शुरू भएको छ,’ उनले भने ।      चीनसँगका भन्सार नाकाहरू अझै पूर्णरूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरीद गरिसकेका तथा खरीद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरू ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिएको छैन । चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालय लगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले बताए । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना गत फागुन भित्रै सम्पन्न लक्ष्य राखी निर्माण शुरू गरिएको थियो । कोभिड–१९ का कारण लगातार १४ महीना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम शुरू हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्र सक्ने लक्ष्य राखिएको छ । इन्जिनीयरिङ, खरीद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङसँग २०७४ साल माघ २९ गते तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ । आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ । आयोजनाको ३ दशमलव ८ किलोमिटर मुख्य सुरुङमध्ये १ दशमलव ८ किलोमिटर खनिएको छ । विद्युत्गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ ‘बी’ले बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउनु पर्दैन । माथिल्लो त्रिशूली थ्री ‘ए’को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । सोही विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउन आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन शुरू गरिएको छ । अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।    आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको विद्युत् गृहबाट करीब ३ किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ ‘बी’ हब सबस्टेशनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । रासस