नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत कुराको आलोचना र विरोध गर्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । पार्टी संसदीय दलको बैठक समापन गर्नुहुँदै उहाँले संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो । उहाँले सदनमा सांसदले बोलेका कुनै शब्द वा अभिव्यक्ति संसदीय मर्यादामा आँच पुग्ने किसिमको भएमा त्यसलाई संसद्को रेकर्डबाट हटाउनका लागि सभामुखले निर्देशन दिने व्यवस्था रहेकाले त्यस्ता शब्द वा अभिव्यक्ति दिने सांसद आफैँले त्यसलाई हटाउन माग गर्नु उपयुक्त हुने उल्लेख गर्नुभयो ।