शेयर बजार घट्दा तपाईंले कति गुमाउनु भयो ? 'सरकारले एउटै शीर्षकमा गुमायो १३ अर्ब'

काठमाडौं । २०७९ सालमा धितोपत्र बजारबाट सरकारले करीब २ अर्ब ५५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (cdsc) ले दिएको जानकारीअनुसार २०७८ सालको तुलनामा २०७९ मा Securities market बाट सरकारको आम्दानी साढे ८३ प्रतिशत कम भएको हो ।  सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार २०७८ वैशाख १ देखि चैत ३० गतेसम्म धितोपत्र बजारबाट नाफा गर्ने investor ले सरकारलाई १५ अर्ब ४७ करोड ४५ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर बुझाएका थिए । पछिल्लो वर्ष भने धितोपत्र बजारबाट हुने सरकारको आम्दानी १२ अर्ब ९२ करोड ३६ लाख ४४ हजार रुपैयाँले घटेको न्यौपानेको भनाइ छ । २०७९ सालमा बजार घटेसँगै लगानीकर्ताको नाफामा कमी आउँदा सरकारी आम्दानी घटेको न्यौपानेले बताए । २०७८ सालमा धितोपत्रको दोस्रो बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको थियो । उक्त वर्षको भदौ २ गते नेप्से हालसम्मकै उच्च ३ हजार २०० विन्दुभन्दा माथि पुगेको थियो । २०७८ सालको साउनमा हालसम्मकै बढी पूँजीगत लाभकर संकलन भएको सीडीएससीका प्रवक्ता न्यौपाने बताउँछन् ।  उनका अनुसार २०७८ साउनमा सरकारले ३ अर्ब २४ करोड ६९ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । NEPSE ले कीर्तिमान बनाएको भदौमा भने सरकारले २ अर्ब ६१ करोड ८६ लाख रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो ।  प्रस्तुत तथ्यांकलाई आधार मान्दा बजार बढ्दा लगानीकर्तासँगै सरकारले समेत धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको देखिन्छ । कोभिड–१९ को धेरैजसो व्यावसायिक क्षेत्र प्रभावित बन्दा पनि धितोपत्र बजार सञ्चालनमा थियो । सरकारले अन्य क्षेत्रबाट आम्दानी गर्न नसकेको त्यो समयमा धितोपत्र बजारबाट राम्रो आम्दानी गरेको थियो । बजारका सरोकारवालाले सरकारलाई धितोपत्र बजारको विकास र विस्तार गरी राजस्व बढाउन सुझाव दिएका छन् ।  अनुभवी लगानीकर्ता केशव कोइराला नेपालको धितोपत्र बजारमा तीव्र उतारचढाव हुने हुँदा लगानीकर्ताले सधैं नाफा कमाउने अवस्था नहुने बताउँछन् । लगानीकर्ताले नाफा कमाउँदा मात्र सरकारलाई कर तिर्ने भएकाले उक्त करमा समेत उतारचढाव देखिने कोइरालाको भनाइ छ । उनी बजार घटबढ भइरहनुपर्ने तर्क गर्छन् । बजारमा दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन हुने नीति भए त्यसले सकारात्मक प्रभाव पार्ने विश्लेषण कोइरालाको छ । उनी धितोपत्र बजारका लगानीकर्ताले कम्पनीको वार्षिक प्रतिफल खाने गरी लगानी गरे बजारले सकारात्मक गति लिने विश्वास गर्छन् ।  २०७९ सालमा धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १९ दशमलव ९१ प्रतिशत घटेको छ । २०७८ चैत ३० गते २ हजार ४१५ दशमलव २५ विन्दुमा रहेको नेप्से २०७९ चैत ३० गते १ हजार ९३४ दशमलव ४८ विन्दुमा झरेको हो ।  २०७९ को कारोबारमा लगानीकर्ताले ६ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । २०७८ चैत ३० गते ३४ खर्ब २६ अर्ब १० करोड ८८ लाख रहेको कुल बजार पूँजीकरण २०७९ चैत ३० गते २८ खर्ब १३ अर्ब ५५ करोड ३७ लाख रुपैयाँमा झरेको हो । घटेको बजारबाट पनि लगानीकर्ताले नाफा गरेर सरकारलाई कर बुझाएको अवस्था २०७९ सालमा समेत देखिएको छ । धितोपत्रको दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र विक्री गरेको खण्डमा सरकारलाई बढीमा १० प्रतिशतसम्म Capital gains tax बुझाउनुपर्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले छोटो अवधिको कारोबारमा ७ दशमलव ५ प्रतिशत र लामो अवधिको कारोबारमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्छन् । धितोपत्रका लगानीकर्ताले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने कानूनी व्यवस्था छ ।