लगानी र लाभबीचको यात्रा

मानव जीवनमा उसको प्राणको अतिरिक्त सबैभन्दा प्यारो सन्तान, महत्त्वपूर्ण ख्याति र अनिवार्य कमाइ हो । त्यसमा पनि तरल सम्पत्तिलाई सबैभन्दा महत्त्वपूर्ण कमाइका रूपमा हेरिन्छ । जुनसुकै कमाइको मुख्य आधार लगानी हो । यद्यपि लगानीले नियमित रूपमा कमाइ दिन सक्दैन । उचित ठाउँमा गरिएको लगानी र त्यसको अभिवृद्धिका लागि गरिने निरन्तर प्रयासले मात्र उचित र नियमित कमाइ दिन सक्छ । लगानीका अनगिन्ती ठाउँ र उपाय छन् । ती उपायमध्ये सबैमा लगानी गर्नुपूर्व विशेष ध्यान पुर्‍याउनुपर्छ, सबै कुराको विश्लेषण गर्नुपर्छ र लगानी पछि पनि निरन्तर त्यसमा निगरानी गर्न सक्नुपर्छ ।  लगानीका विभिन्न क्षेत्र छन् । जस्तै : उद्योगधन्दा, कलकारखाना, सेवामूलक व्यवसाय, स्टार्टअप, उद्यमशीलता, शेयरबजार आदि । यीमध्ये जुनमा लगानी गरे पनि यसको उचित रेखदेख, उचित व्यवस्थापन र निरन्तर सुधारका लागि प्रयासरत रहेर मात्र सफलता पाउन सम्भव हुन्छ । कुनै पनि लगानीमा कमाइ हुन आन्तरिक तथा बाह्य वातावरणको संयोजन मिल्नैपर्छ, यसमा कुनै सन्देह रहेन । यसमा नेतृत्वको भूमिका ज्यादै निर्णायक हुन्छ ।  हामीमा प्राय: बाह्य वातावरणलाई दोष दिने, नेता र राजनीतिलाई दोष दिने चलन छ । वास्तवमा सफलता वा असफलताको मुख्यविन्दु आन्तरिक वातावरणबाट सृजित हुन्छ । बाह्य वातावरण सफलता वा असफलतामा निर्णायक छँदै छैन भन्न खोजिएको होइन तर कमजोरी हामीभित्र पनि छ, सुधार्नुपर्छ, सचेत हुनुपर्छ ।  शेयरबजारमा पनि लगानी गरेर प्रशस्त धन आर्जन गर्न सकिन्छ, त्यतिकै गुम्न पनि सक्छ । एउटै कम्पनीमा लगानी गरेर कसैले मनग्गे कमाउँछ र कोही त्यसै कम्पनीबाट डुब्छ भने लगानीकर्ताको आन्तरिक विश्लेषण क्षमताको अभाव हो । यसमा बाह्य वातावरणलाई दोष दिन पाइँदैन । पक्कै पनि व्यवसाय बाह्य वातावरणको पासोमा हुन्छ । अवसर वा चुनौती बृहत् वातावरणले सृजना गर्छ । सफल नाविकले हुरी र बतासका बीचमा डुंगालाई पार लगाउन सक्छ भने सही समयमा सही निर्णय नगर्नेले जहाज डुबाउँछ । वास्तवमा शेयरबजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन जुन कम्पनीको शेयरमा हामीले लगानी गरेका हुन्छांै, त्यसको वित्तीय अवस्था स्वच्छ र प्रगतिउन्मुख हुनुपर्छ । सबै पक्ष हेरेर लगानी गर्नुपर्छ । पीई रेसियो, प्रतिशेयर आम्दानी, ननपरफर्मिङ सम्पत्तिको विश्लेषण गरेर लगानी गरे तापनि एकपटकको सही निर्णयले व्यवसायमा निरन्तर लाभ दिन सक्दैन । त्यसैले बजारमा लगानी गर्नेले उपयुक्त समयमा शेयर बेच्ने र अर्को कम्पनीको किन्ने क्षमता राख्नुपर्छ । एउटै कम्पनीको लगानीले ४ वर्षको अन्तरालमा कसैले त्यो कम्पनीको शेयरबाट घडेरी किन्छ, कोही घर बेचेर ऋण तिर्न बाध्य हुन्छ । यसमा समय र निर्णय क्षमताले ठूलो भूमिका खेलेको हुन्छ । लगानी गर्दा कम्पनी छनोट गर्दाको सतर्कताले नै मानिसलाई बजारमा सक्षम लगानीकर्ता बनाउँछ । यदि राम्रो कम्पनी छनोट गरिएन भने त्यसले बजारमा हरियाली हुँदाहुँदै पनि आफ्नोचाहिँ कम्पनीको अवस्था बिग्रिएको हुन्छ । कम्पनीको अवस्था परीक्षण कसरी गर्ने भन्नेबारेमा विभिन्न समस्या छन् आजभन्दा १ वर्षअगाडि लघुवित्त कम्पनीहरूको शेयर मूल्य १००० भन्दामाथि नै हुन्थ्यो आज कुनै लघुवित्त कम्पनी आईपीओ मूल्य रू. १०० भन्दा पनि तल झरेको अवस्था छ । सफलता वा असफलताको खेल नै यसैमा छ । कुन बेला कुन कम्पनीको शेयर थप्ने कुन बेच्ने सफलताको रहस्य यहाँनेर छ ।  लगानीले कति बेला कमाइ र सन्तुष्टि दिन्छ भनेर कसैको अनुभव, अर्ती अध्ययनले जानकारी दिन सक्दैन । त्यसले कसैको कहानी, लेख, किताब पढेर सफलताको सूत्र भेट्न सकिँदैन तर समयको अध्ययनले धेरै कुरा सिकाउन सक्छ ।  काममा निरन्तरता, सचेतता, वृद्धिको प्रयास गर्दै जाँदा जस्तो परिस्थिति आइलाग्छ त्यसैअनुसार निर्णय गर्दै जानुपर्छ । कुनै व्यवसाय ठीक वा बेठीक भन्ने केही हुँदैन । जसले आवश्यकताअनुसार उचित निर्णय लिएर परिस्थितिलाई सम्हाल्दै लैजान सक्छ उसलाई राम्रो हुन्छ, नसके बिग्रिन्छ । राजनीति र नोकरीमा सफलता पाउनु र आफ्नो व्यवसाय र लगानीमा सफल हुनु अलग विषय हुन् । राजनीतिमा समाज सेवामा कोही असफल भए पनि आफ्नो व्यक्तिगत लगानी डुबेर सडकमा आउनु पर्दैन । तर, व्यापार, व्यवसाय, शेयरबजारमा लगानी डुबेमा व्यवसायीको आत्महत्या गर्नुपर्ने अवस्था आउन सक्छ ।  त्यसैले सफलताको पनि एउटै परिभाषा हुँदैन र असफलताको एउटा मात्र कारण हुँदैन । व्यवसायलाई टिकाउन, लगानीलाई दिगो बनाउन र आम्दानीलाई कायम राख्न आर्थिक अनुशासन कायम राख्दै वित्त व्यवस्थापनमा सदैव सचेत हुनुपर्छ । कुनै पनि विषयको सफलताका लागि कुनै सूत्रात्मक तरीका छैन तर प्रक्रिया पालन गर्नुमा कुनै चुक हुनु हुँदैन । व्यक्तिलाई सबै सफलता आवश्यक छ तर राष्ट्र, समाज र मानवताका लागि व्यावसायिक सफलता बढी आवश्यकीय र अनिवार्य तत्त्व हो । त्यसैले व्यवसाय एक संस्था यसलाई असफल हुनबाट बचाउन त्यसको सञ्चालकले प्रयास त गर्नैपर्छ । राज्यले उद्यम र उद्यमीलाई डुब्नबाट बचाउने गरी नीति, रणनीति बनाउनुपर्छ ।  लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।