१० वर्षअघिको आर्थिक अभियानबाट : ‘पूर्वाञ्चलमा भारू अभाव छैन’

नेपाल राष्ट्र बैंक विराटनगरले पूर्वाञ्चलमा आवश्यकताअनुसार पर्याप्त भारू उपलब्ध गराइरहेको दाबी गरेको छ । पूर्वाञ्चलमा भारतीय रुपैयाँको अभाव र अवैध कारोबार भइरहेको गुनासो बढ्न थालेपछि शुक्रवार पत्रकार सम्मेलन गरेर कार्यालयले अभाव नभएको दाबी गरेको हो । ‘उचित कार्यका लागि भारूको उचित माग गर्नेहरूले अभाव महसूस गर्नुपरेको छैन,’ कार्यालयका मुख्य व्यवस्थापक नरबहादुर थापाले भने ।  भारतमा उपचार, शिक्षा, तीर्थाटनका लागि जाने सर्वसाधारणलाई आवश्यकताअनुसार भारू उपलब्ध गराउँदै आएको कार्यालयले पत्रकार सम्मेलनमा स्पष्ट पारेको छ । नगद भारू वितरण गर्दा पहिलो प्राथमिकता स्वास्थ्योपचार तथा शिक्षा र त्यसपछि तीर्थाटन र सामान्य घुमघामलाई दिँदै आएको थापाले बताए । तर, भारतसँगको व्यापारिक कारोबार गर्नका लागि माग भएको भारू भने डिमान्ड, ड्राफ्ट, टीटी र एलसीबाट मात्र गर्न सक्ने व्यवस्था गरेको उनले बताए । ‘व्यावसायिक कारोबार औपचारिक रूपमा बैंकमार्फत होस् भनेर यस्तो व्यवस्था गरिएको हो,’ उनले भने ।  व्यवसायीहरूले सामान आयात गर्दा ढुवानी भाडाका लागि पनि ५०/६० हजार नगद भारूको माग गर्ने गरेको सुनाउँदै थापाले यस्ता अनौपचारिक कारोबारका लागि सुविधा दुरुपयोग नहोस् भन्नेतर्फ राष्ट्र बैंक सचेत भएको बताए । राष्ट्र बैंकबाट अनुमति लिएर विराटनगरमा सञ्चालन भइरहेका सटही काउन्टरहरूले बढी शुल्क लिएर भारतीय रुपैयाँ सटही गरेको गुनासो आएको उनले बताए ।  वर्ष ६, अंक २२२, आइतवार, १६ वैशाख, २०६९