सार्वजनिक सवारीसाधनको बढ्यो भाडा, १३ % सम्म भाडा वृद्धि

चैत १७, काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुन सक्ने यातायात व्यवस्था विभागले बताएको छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागले बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको हो ।             मन्त्रालयबाट पेट्रोलियम पदार्थको भाडा पाँच प्रतिशत घटबढ हुँदा समायोजन स्वतः हुने र कसैले माग गर्न नपर्ने व्यवस्था गर्न लागेको विभागले बताएको छ । विगतमा पनि स्वचालित भाडादर लागू गर्ने भनिए पनि लागू भएको थिएन ।             सरकारले पछिल्लो पटक गत असार २८ गते सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको विभागले बताएको छ ।