काठमाडौं । विद्युत नियमन आयोगले पछिल्लो समय दुई जलविद्युत कम्पनीहरूलाई हकप्रद शेयर विक्री गर्न स्वीकृति प्रदान गरेको छ । आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई र दोर्दी खोला जलविद्युत कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो ।
फागुन १६ गते आयोगले दुवै कम्पनीलाई हकप्रद शेयर विक्री गर्न अनुमति दिएको जानकारी सम्बन्धित कम्पनीहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत गराएका छन् ।
राप्ती हाइड्रोले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर विक्री गर्नेछ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि यस कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ कायम हुनेछ ।
त्यस्तै दोर्दी खोला जलविद्युतले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर विक्री गर्न आयोगको अनुमति पाएको हो । यस कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ ।
नेपाल धितोपत्र बोर्डमा जलविद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्न आवेदन पेस गर्नुपूर्व विद्युत नियमन आयोगबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम यी दुई कम्पनीले आयोगको स्वीकृति प्राप्त गरेका हुन् । आयोगको स्वीकृति प्राप्त भएसँगै अब यी दुई कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रियालाई अघि बढाउन बाटो खुला भएको छ ।