जेठ १९, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वर्ष २०७९/ ०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा बोल्दै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए ।
‘बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ’, उनले भने, ‘तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।’
सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको बताए । “सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्”, उनले भने, “प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जान्छ, यस कुरालाई ध्यान दिनुपर्छ ।”
उनले बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव दिए । उनले भने, ‘कृषिको आत्मनिर्भर बनाउने कुरा अत्यन्तै राम्रो छ, यसमा अर्थ मन्त्रालयले नै ध्यान दिएर काम गर्नुपर्छ ।’
उनले प्रदेश र स्थानीय तहको बजेट आउँदै भए पनि अहिलेसम्म त्यसबारे छलफल नभएको बताए ।