मानव समाजमा असल कार्यको बढोत्तरी र खराब कार्यलाई निरुत्साहन गर्न सामाजिक संस्कार तथा मूल्यहरूद्वारा निर्देशित सूक्ष्म पक्षलाई नैतिकता भनिन्छ । के असल अनि के खराब भन्ने कुरा पनि समाज र संस्कृतिसापेक्ष हुन्छ । एउटा समाजको असल कुरा अर्को समाजका लागि खराब हुन सक्छ भने कुनै समाजको खराब पक्ष अर्को समाजको असल पक्ष पनि हुन सक्छ । तर कतिपय विश्वव्यापी रूपमै स्विकारिएका असल र खराब मूल्यहरूसमेत छन् । नैतिकताले के गर्ने र के नगर्ने भन्ने विषयमा एउटा लक्ष्मणरेखा निर्धारण गर्छ ।