जेठ ४, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष राष्ट्रपतिय तथा प्रधानमन्त्रिय प्रणालीको व्यवस्था गरेमात्र देशको विकास हुने बताएका छन् ।
बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले आर्थिक विकास गर्न अहिलेको व्यवस्थाले सम्भव नहुने बताएका हुन् ।
‘अहिलेको व्यवस्थालाई पुनर्संरचना गुन आवश्यक छ । अहिलेकै व्यवस्थाले आर्थिक विकास हुन सक्दैन् । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति तथा प्रधानमन्त्री हुने व्यवस्था गर्नु पर्छ,’ उनले भने ।
त्यस्तै स्वास्थ्य र शिक्षाको जिम्मा सरकारले लिनु पर्ने पनि भट्टराईको भनाइ छ । शिक्षा र स्वास्थ्यको सुधार गर्न सके अरू विकास क्रमशः हुँदै जाने पनि उनले बताए ।
विनियोजित कुल बजेटमध्ये २० प्रतिशत शिक्षा र १० प्रतिशत स्वास्थ्यलाई छुट्याउनु पर्ने उनले बताए ।
त्यसैगरी विदेश गएर नेपालीले कमाएको पैसा अनुत्पादक क्षेत्रमा गएको भन्दै भट्टराईले त्यसतर्फ सरकारले ध्यान दिएर उत्पादनमूलक क्षेत्रमा ल्याउने नीति सरकारले लिनुपर्ने पनि बताए ।