चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको खुद नाफा २५.६६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक ७७/७८ को दोस्रो त्रैमासमा बैंकले ३५ करोड २२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर ४४ करोड २६ लाख पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा २६.३० प्रतिशतले बढेर ३४ करोड ८६ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा २५.५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख पुगेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख पुगेको छ । बैंकले यस अवधिसम्ममा २३ अर्ब ५७ करोड कर्जा स्वीकृत गरेको छ । यो ऋण ऋण तालिका अनुसार स्वीकृत हुने बैंकले जनाएको छ ।यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा, प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा, इक्वीटिमा प्रतिफल ३.८९ प्रतिशत, मूल्य आम्दानी अनुपात ८८.७६ रुपैयाँ, प्रति शेयर कुल सम्पतिको मूल्य ४९२ रुपैयाँ, सम्पतिमा प्रतिफल ३.७२ प्रतिशत र औसत इल्ड ७.२३ प्रतिशत रहेको छ ।बैंकले आगामी रणनीतिमा ऋण उपकरण र निक्षेप मार्फत स्रोत संकलन एंव पूर्वाधारको सार्वजनिक र निजी परियोजनाहरुमा गरिने कर्जा लगानीमा विविधिकरण गर्ने, आयआर्जन गर्ने नयाँ क्षेत्रहरु विस्तार तथा ऋण उपकरण मार्फत लगानीको स्रोत परिचालनमा जोड दिने, प्रदेश र स्थानीय सरकार सहितको संलग्नतामा पूर्वाधारको परियोजनाहरुको पहिचान गर्दै सोमा निजि क्षेत्रको लगानी प्रवर्द्धन गर्ने तथा समग्र जोखिम व्यवस्थापनको आधारभुत पक्षहरुलाई सवलिकरण गर्ने उल्लेख गरेको छ।