कपिलवस्तुको बुद्धभूमी नगरपालिका- ६ महुवाका दीपक नारायण मलाहले गरेको व्यवसायिक लिची खेती । १६ ओटा रुखमा उत्पादन भएको लिची बन्दाबन्दीका कारण विक्री गर्न समस्या परेको छ । तस्वीर : रासस
खोटाङ । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो ।
जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किबी खेती गरिन्छ ।
जन्तेढुङ्गा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर र रावाबेँसी गाउँपालिकाको हौँचुरका किसानले व्यावसायिक रुपमा किबी खेती गरेका छन् ।
जिल्लामा हेवार्ड, एलिसन र रातो किबी लगाउने गरिएको किसानले बताएका छन् । ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा कृषि तथा पशुपक्षी फर्म जालपाले रु पाँच लाख ९९ हजार २५०, नमूना कृषि फर्म ऐंसेलुखर्क र नमुना कृषि तथा वन नर्सरी व्यवस्थापन केन्द्र ऐँसेलुखर्कले किबी खेती प्रवर्द्धनकार्यक्रम अन्तरगत रु छ/छ लाख अनुदान पाएका छन् ।
यस्तै, आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पाँच मेट्रिक टनले लिचीको उत्पादन बढेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक सय ४८ मेट्रिक टन लिची उत्पादन भएको जिल्लामा २०७९/८० मा एक सय ५३ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।
जिल्लाभर एक सय ५२ हेक्टर क्षेत्रफलमा लिची रोपिए पनि ३० हेक्टर क्षेत्रफलमा लगाइएको लिचीले मात्रै उत्पादन दिँदै आएको जनाइएको छ । जिल्लाको कुभिण्डे, खार्पा, हाँैचुर, दुवेकोल, डुम्रेधारापानी, बुइपा, विजयखर्क, महादेवस्थान, धितुङ लगायतका स्थानमा व्यवसायिक रुपमा लिची खेती हुँदै आएको छ ।
रावाबेँसी गाउँपालिका–१ कुभिण्डेमा गतवर्ष रु एक करोड बढीको लिची उत्पादन भएको थियो । जिल्लामा उत्पादित लिची सदरमुकाम दिक्तेल, धरान, विराटनगर तथा राजधानी काठमाडौँमा समेत निर्यात हुँदै आएको छ ।
यस्तै, खोटाङमा गत वर्षको तुलनामा यसवर्ष आँपको उत्पादन घटेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक सय ९० मेट्रिक टन उत्पादन भएको आँप आर्थिक वर्ष २०७९/८० मा उक सय ८५ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गत वर्षभन्दा यसवर्ष बढी कीरा लाग्नाले आँपको उत्पादन घटेको किसानले बताएका छन् । जिल्लाभर ९८ हेक्टर क्षेत्रफलमा आँप खेती गरिए पनि ५९ हेक्टर क्षेत्रफलमा लगाइएको आँपले मात्रै उत्पादन दिंदै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फलफूल खेती प्रवद्र्धनका लागि हरेक स्थानीय तहले किसान समूहलाई बर्सेनि फलफूलका बिरुवा निःशुल्क वितरण गर्दै आएको छ ।
स्थानीय तहले निःशुल्क वितरण गरेको फलफूलका बिरुवाले समेत उत्पादन दिन थालेको पाइएको छ । खाली रहेको जग्गालाई उपयोग गर्दै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यका साथ निःशुल्क बिरुवा वितरण गरिएको स्थानीय तहहरुले बताएका छन् । जिल्लामा उत्पादित फलफूललाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी स्थानीय तहले तयारी थालेका छन् ।रासस
टोफिचु टड्का लिची (Toffichoo Tadka Litchi) बजारमा नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिचु अन्तर्गत नयाँ टड्का लिची “टेष्टको नयाँ टिव्स्ट” को नारासहित बजारमा सार्वजनिक गरेको छ । टड्का लिचीमा लिचीको मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । टोफिचु टड्का लिचीको विक्री मूल्य प्रतिगोटा २.५० रुपैयाँ […]
करिब साढे २ वर्ष अगाडीसम्म पर्वतको सदरमुकाम कुश्मा र बागलुङको बलेवा क्षेत्र आमनेसामने भएर पनि भौतिक रुपमा जोडिएका थिएनन् । अक्करको भीर र कहालिलाग्दो खोँच बनाएर आफ्नै गतीमा निरन्तर बगिरहने कालिगण्डकी नदीले यी २ जिल्लालाई छुट्याएको छ । त्यसैले पनि कुश्मा र बलेवा आँखाले हेर्दा वारीपारी भएपनि भौतिक रुपमा जोडिन सकेका थिएनन् ।तर, अहिले कुश्मा र बलेवाले अँगालो मात्रै मारेका छैनन्, नेपालका विभिन्न क्षेत्रबाट पुग्ने आन्तरिक र बेलाबखत आउने बाह्य पर्यकटलाई मिलेर आतिथ्य सत्कार पनि दिईरहेका छन् । कारण हो, त्यहाँ २ वर्ष अघिबाट ‘द क्लिफ’ सञ्चालनमा आएको छ । २०१९ अक्टुबर ३१ बाट सञ्चालनमा आएको द क्लिफले ५२० मिटर लामो पुल बनाएर २ जिल्लालाई भौतिक रुपमा जोड्ने मात्रै नभई, त्यहाँ विश्वकै दोस्रो अग्लो (२२८ मिटर उचाईको) ‘बन्जी जम्प’ र स्वीङ खेल खेलाउँछ । यसले कुश्मा वा बागलुङ क्षेत्रमा मात्रै नभई नेपालकै ‘एडभेन्चर टुरिजम’मा नयाँ आयाम थपेको छ । यसरी जन्मियो ‘द क्लिफ’सिन्धुपाल्चोकको भोटेकोशीमा ९ वर्ष लामो बन्जी खेलाएको अनुभव भएका राजु कार्की २ वर्ष फ्रान्समा बसेर फर्किए । सन् २०१० देखि २०१२ सम्म फ्रान्समा बसेर नेपाल फर्किएपछि उनले नेपालमै एडभेन्चर टुरिजमको क्षेत्रमा केही नयाँपन सहितको काम गर्ने योजना बनाए । आफूसँग अनुभव पनि भएकाले उनले बन्जी जम्प नै चलाउने मनस्थिती बनाएका थिए । यसका लागि सिन्धुपाल्चोक र पोखरा आसपासमा उनले ठाउँ खोज्न थाले । तर, २ वर्ष लगाएर ठाउँ खोज्दा भेटिएको कुश्मा र बलेवा बीचको कालिगण्डकीको खोँच उनलाई उपर्युक्त लाग्यो । सन २०१३ मै कम्पनी दर्ता गरेर उपर्युक्त ठाउँको खोजीमा निस्किएका राजुले २०१५ मा मात्रै उक्त ठाउँ भेटेका थिए ।मनले खाएको ठाउँ भएर उनले त्यहीँ अक्करको खोँचलाई एडभेन्चर टुरिजमको ‘हब’ बनाउने निधो गरे । सुरुमा ‘इन्टू त वाइल्ड’ नाम राखिएको भएपनि दूबैतिर भीर रहेको, बीचमा कालिगण्डकी बगेको र कालिगण्डकीमाथि बनेको पुलको बीच भागबाट बन्जी र स्वीङ गरिने भएकाले पछि नाम परिवर्तन गरेर ‘द क्लिफ’ राखियो । क्लिफको नेपाली अर्थ पहरा हो । द क्लिफमा अहिले स्वीङ र बन्जीसँगै, स्काई चेयर, स्काई साइकलिङ लगायतका एडभेन्चर गतिविधि सञ्चालनमा छन् । लगानी कति ?राजुले आफ्नो योजना साथीहरु फ्लोरेन्स कार्की, नेत्र प्रसाद पराजुली (बागलुङ), युवराज जोशी (पर्वत), नवराज शर्मा (बागलुङ) र राजनकुमार जोशी (पर्वत) सहित इश्व कार्की (हाल सीईओ) लाई आफ्ना कुरा ‘सेयर’ गरिसकेका थिए । ठाउँ पक्का भएपछि लगानी जुटाउने चुनौती राजुसँग थियो । तर, उनका साथीहरु लगानी गर्न तयार भए ।दोलखाका इश्व कार्की पनि स्वीटजरल्याण्ड र जापान गरी १ वर्ष ६ महिना जति विदेश बसेरै फर्किएका थिए । ‘राजु सर र म भोटेकोशीमा पहिला बन्जी खेलाउँथ्यौँ, तर यहाँको मुख्य योजनाकार चाहिँ राजु सर नै हुनुहुन्छ’ सीईओ इश्वले बिजपाटीसँग भने, ‘हालसम्म ३० करोड लगानी भईसकेको छ । ८ करोड प्रोजेक्ट बेस लोन (परियोजना कर्जा) लिएका छौँ । हामीलाई प्रभू बैंकले लोन प्रोभाइड गरेको छ ।’६० प्रतिशत कर्मचारी स्थानीय, सिङ्गै गाउँ स्वरोजगारपर्वतको कुश्मापट्टि द क्लिफको ४ आना जग्गा छ । त्यहाँबाट प्रवेश गरेर ५२० मिटर अर्थात् आधा किलोमिटर लामो पुल तरेपछि बागलुङको बलेवा अर्थात् बागलुङ नगरपालिका (नारायणस्थान १४) मा प्रवेश गरिन्छ । बागलुङपट्टि ५० रोपनी जमिन छ । त्यहाँ द क्लिफ रिसोर्टसहित सबै उमेर समूहका व्यक्तिहरुका लागि मिल्ने खेलहरु खेलाइन्छ । २१ वटा सफारी टेन्टसहित आकर्षक ढंगले हरियाली प्रवद्र्धन गरिएको छ । रिसोर्टबाट कालीगण्डकीको खोँच, बन्जी र स्वीङ गरिरहेका दृश्यसहित पवर्तको कुश्मा बजार आँखै अगाडी देखिन्छ ।द क्लिफले त्यहाँ बन्जी खेलाउने पूर्वाधारका रुपमा पुल नबनाउँदासम्म कालिगण्डकी किनारमा रहेको बागलुङ पट्टिको बस्ती उजाड सरह थियो । प्राकृतिक रुपमा उजाड नभई सुविधाका दृष्टिले त्यस क्षेत्रका बासिन्दा कठोर जीवनयापन गर्थे । ‘नजिकै २ वटा बस्ती छन्, यहाँभन्दा तल तिरको बस्ती पहिला समस्यामा थियो, गाउँमा कुखुरा पाले पनि बिक्रि हुँदैनथे, केही सामान किन्नु पर्यो भने पनि १ दिन लगाएर घुमेर मात्रै पारी कुश्मा पुग्नुपर्थ्यो’ कुश्माबाट आफ्नी छोरीसहित बलेवातिर फर्कदै गरेकी एक जना महिलाले भनिन्, ‘अहिले त यहाँबाट हामीलाई सित्तैमा ओहोर दोहोर गर्न दिईएको छ, पैसा लाग्दैन । कुखुरा, खसीहरु यहीँ बिक्रि हुन्छन् । दूध पनि यहीँ बेच्छौँ । पारी (कुश्मा) लैजानभन्दा यहाँ हामीलाई दूधमा १० रुपैयाँ बढी पनि दिएका छन् ।’सीईओ कार्की पनि १५ मिनेटको दूरीमा बलेवा विमानस्थल भएर पनि तल्लो भेगका स्थानीयको जीवनस्तर निकै पीडादायी थियो भन्ने स्मरण गर्छन् । तर, अहिले अवस्था फेरिएको छ । द क्लिफले सिङ्गो गाउँलाई नै स्वरोजगार बनाउँदै लगेको छ ।‘हामीले यहाँका दाजुभाई दिदीबहिनीलाई उत्पादनमा लाग्नुपर्छ, जे फल्छ त्यहीँ फलाउनुपर्छ, तपाईहरुले फलाएका बस्तुहरु हामी किनिदिन्छौँ भनेका छौँ’ सीईओ कार्की थप्छन्, ‘कुखुरा, अण्डा र खसीहरु हामी यतैबाट किन्छौँ । माछा पनि पाल्न थालेका छन् अब । दूधमा हामीले कुश्मातिर भन्दा यहीँ लिटरमै १० रुपैयाँ बढी दिएका छौँ । किनकी हामीलाई प्रोडक्सनमा लाग्ने कल्चरको विकास गर्नुछ । पैसा हातमै पाउने भएपछि मानिसहरु लाग्दा पनि रहेछन् । तरकारी चाहिँ व्यवसायिक रुपमा खेती भएको छैन । खानामा प्रयोग गरेर बाँकी रहेको छ भने थोरै थोरै लिएर आउँदा पनि हामी किनिदिन्छौँ । अहिले यो क्षेत्रका स्थानीयको जीवनस्तर विस्तारै विस्तारै माथि उठ्दै छ । हामी खुशी छौँ ।’सिजन अनुसार फल्ने अम्बा, लिची र सुन्तला पनि द क्लिफले नै किनिदिन्छ । सँगै द क्लिफले पुलमा सो क्षेत्रका बासिन्दालाई निःशुल्क रुपमा ओहोर दोहोर गर्न दिन्छ । यसका लागि गाउँका सबैलाई छुट्टै ‘पास’को व्यवस्था गरिदिएको छ ।अर्कोतर्फ, विदेश जाने सोच बनाएकाहरुले पनि द क्लिफ सञ्चालनमा आएर आन्तरिक पर्यटकहरुको आवतजावत बढेपछि नजिकै रेष्टुरेन्ट खोल्न थालेका छन् । नजिकैको जीपलाइन व्यवसाय पनि फष्टाएको छ । कतिपय विदेश गएर फर्केर आएकाहरुले पनि कुनै न कुनै व्यवसाय सुरु गरेका छन् । त्यति मात्रै होइन, द क्लिफले कुल ८४ जनालाई रोजगारी दिएको छ । यसमध्ये ६० प्रतिशत कर्मचारी स्थानीय गाउँकै छन् । कर्मचारीलाई तलब भत्तावापत द क्लिफले मासिक २० लाखको हाराहारीमा खर्च गर्छ । यहाँ १५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म बुझ्ने कर्मचारीहरु छन् । नेपालकै पहिलो बन्जी मास्टर्स प्रकाश प्रधानको नेतृत्वमा प्राविधिक टिम छ ।साथमा, द क्लिफ सुरु भएपछि गाउँमा चहलपहल बढेको छ । सडकहरु बन्ने क्रम सुरु भएको छ ।कुन खेलको कति शुल्क ?स्वीङ र बन्जी खेल्नेहरु अनुभवका लागि खेल्ने धेरै हुन्छन् भन्छन् सीईओ इश्व कार्की । उनका अनुसार दैनिक औसतमा ८० जनाले ‘भिजिट’ गर्छन् । बन्जी भने गत जनवरीबाट मात्रै सुरु भएको हो । हाल दैनिक औसतमा २० जनाले बन्जी गर्छन् ।कपल (२ जना) र एक्लै खेल्न मिल्ने गरी २ थरी स्वीङ छ । बन्जी भने सिंगल मात्रै गर्न मिल्छ ।स्वीङको ७ हजार र भिडियो, फोटो र टिसर्टका लागि थप १५ सय गरी ८ हजार ५ सय शुल्क लाग्छ । बन्जीको पनि ८ हजार ५ सय नै लाग्छ ।तर, बन्जी वा स्वीङ गर्दिन भनेर सिँधै पुल तरेर बागलुङ पुग्दा पनि त्यहाँ न्यूनतम् ५ सयदेखि ७ सय सम्मका ‘एक्टिभिटीज्’ गर्न सकिन्छ । सुरक्षाका दृष्टिले पनि द क्लिफले स्वीटजरल्याण्ड र अष्ट्रेलियाबाट बेला बेलामा आफ्नै खर्चमा विज्ञहरु ल्याएर ‘अडिट’ गराउँछ । बन्जी र स्वीङ गर्नेहरुको उक्त अवधि भरीको लागि ७ लाखको बीमा पनि गरिदिएको छ ।‘पैसा कति भन्दा पनि मान्छेहरु अनुभव गर्न बन्जी र स्वीङ गर्छन्’ कुराकानीको बिट मार्दै सीईओ कार्कीले बिजपाटीको टिमसँग भने, ‘विश्वकै दोस्रो अग्लो बन्जी भनेपछि मानिसहरुमा एक पटक भिजिट गरौँ न त भन्ने पनि लाग्दोरहेछ । हेर्न मात्रै पनि मान्छेहरु आउनु हुन्छ । यसले कुश्माको परिचय नै स्थापित भएको छ । पहिला कुश्मा भन्दा त्यहाँको स्पेशल के भन्ने केही थिएन । तर अहिले कुश्मा भन्ने वित्तिक्कै विश्वकै सेकेण्ड हाईएस्ट बन्जी भएको ठाउँ भनेर स्थापित भएको छ ।’