एचआईडिसीएलको स्थगित संस्थापक शेयर विक्री प्रकृया अघि बढ्दै, धितोपत्र बोर्डले खोलिदियो बाटो

वैशाख २०, काठामाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को स्थगित संस्थापक शेयर विक्री प्रकृया अघि बढ्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डको निर्देशनमा स्थगित भएको कम्पनीको संस्थापक शेयर विक्री प्रकृया बोर्डकै निर्देशनमा अघि बढाउन लागिएको हो । कम्पनीले बोर्डको निर्देशनमा विक्रीकै क्रममा ३ करोड ३० लाख कित्ता अवितरित संस्थापकतर्फको हकप्रद शेयर विक्री प्रकृया स्थगित गरेको थियो ।  कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसेकेको उक्त शेयर फागुन १ गतेदेखि १५ गतेसम्म दोस्रो पटक लिलामीमा विक्री खुला गरेको थियो ।  बोर्डको निर्देशनमा कम्पनीले विक्रीकै क्रममा फागुन १३ गते उक्त शेयर विक्री प्रकृया स्थगित गरेको हो । सो अवधिमा प्राप्त बोलपत्र कम्पनीले फिर्ता गरिसकेको छ । पहिलो चरणमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त शेयर विक्रीका लागि कम्पनीले नियमावली संशोधननै गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरिएको छ ।  पहिलो चरणमा कम्पनीले न्यूनतम एक करोड कित्ताको सीमा राखी गत असोज ७ गतेदेखि १४ गतेसम्म यो शेयर लिलामीमा विक्री खुला गरेको थियो । कम्पनीले संस्थापकतर्फको उक्त शेयरसँगै सर्वसाधारणतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता हकप्रद शेयर विक्री खुला गर्दा सर्वसाधारणतर्फको शेयर भने विक्री भएको थियो । कम्पनी सचिव जीवन बस्नेतले बोर्डले कम्पनीको लिलामी शेयर कुन समूह अन्तर्गत रहने र दोस्रो बजारमा कसरी कारोबार हुने भन्ने कुरा सूचनामै प्रष्ट पारेर लिलामी प्रकृया अघि बढाउन बोर्डले निर्देशन दिएको जानकारी दिए । अब अन्योलमा रहेको कम्पनीको संस्थापक शेयर विक्री प्रकृयाले पूर्णता पाउने विश्वास बस्नेतको छ ।  बोर्डले दुई हप्ता अघिनै विक्री प्रकृया अघि बढाउन निर्देशन दिएपनि कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयको पखाईमा रहेको सचिव बस्नेतको भनाइ छ । सञ्चालक समितिको निर्णय पश्चात् कम्पनीको शेयर लिलामी प्रकृया शुरु हुने जानकारी समेत उनले दिए ।  कम्पनीले विक्री गर्न लागेको यो शेयर संस्थापकसमूह तर्फनै रहने भएपनि सर्वसाधारण शेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने सचिव बस्नेत बताउँछन् ।  संस्थापकतर्फको शेयरको लकिङ पिडियड सकिएकाले संस्थापकसमूहतर्फ रहने भएपनि सर्वसाधारण समूहकै मूल्यमा कारोबार गर्न सकिने बस्नेतले प्रष्ट पारेका छन् । यो शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।