वर्ल्डलिंकमा ३०० एमबीपीएस क्षमताको इन्टरनेट सुविधा

काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले ३०० एमबीपीएस क्षमताको इन्टरनेट सेवा सुरु गरेको छ । वर्ल्डलिंक फोटोन स्किमअन्तर्गत यो इन्टरनेट सेवा सुरु गरिएको हो । फोटोन स्किममा ग्राहकले मेस वाईफाई प्रणालीबाट घरभरिका कोठामा उच्च गतिको इन्टरनेट प्राप्त गर्नेछन् । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १/१ राउटर प्रयोग गरिनेछ । यसले हाल  घरमा भइरहेको ढिला गतिको इन्टरनेट समस्या समाधान मेस वाईफाईले गराउनेछ ।   वर्ल्डलिंकले घरभित्र धेरै राउटरलाई नेटवर्किङ गर्नेछ । मेस वाईफाई स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली विस्तारीकरण राउटरभन्दा राम्रो हुन्छ । मेस वाईफाईमा सबै राउटर एकअर्कासँग जोडिएका हुन्छन् । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्नुपर्दैन । ग्राहकले घरभरि  इन्टरनेटको गतिमा कुनै परिवर्तनबिना राउटरलाई सार्न सक्ने कम्पनीका अध्यक्ष दिलीप अग्रवालले बताए । यो सेवा अहिले काठमाडौंमा उपलब्ध गराइएकामा छिट्टै अन्य सहरमा पनि विस्तार गरिने उनले जानकारी दिए ।