विवादित छवि भएका माओवादी केन्द्रीय सदस्य ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि माओवादीभित्र प्रश्न उठेको छ । विवादित लामालाई सरकारले नियुक्त गरी भ्रष्टाचारविरुद्ध अभियानलाई खिल्ली उडाएको नेताहरूले बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विवादाद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्ष बनाएपछि चित्त नबुझेको तर मन्त्रिपरिषद्ले गरेको निर्णयमा विमति जनाएको भनी गोलमटोल प्रतिक्रिया दिए ।
विगतमा पनि मन्त्रिपरिषद्ले गरेका यस्ता निर्णयमा सम्बद्ध मन्त्रीले चित्त नबुझाएको प्रतिक्रिया दिने तर पदमै बसिरहने अभ्यास हुँदै आएको छ । यस्तो अभ्यासले नेपालमा अझै पनि नेपालले अँगालेको राजनीतिक प्रणालीका बारेमा बुझाइ कमी रहेको देखिन्छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय आफ्नै मन्त्रालयलाई थाहा नपाएको भनी जेजस्तो चर्चा चले पनि वेस्ट मिन्स्टरको प्रणालीमा सर्वेसर्वा प्रधानमन्त्री हुने भएकाले प्रधानमन्त्रीले गरेको निर्णयविपरीत कुनै पनि मन्त्रीले असन्तुष्टि सार्वजनिक गर्नु हुँदैन ।
नेपालले वेस्ट मिन्स्टर प्रणाली अवलम्बन गरेका कारणले नै संविधानमा मन्त्रीहरू प्रधानमन्त्रीप्रति उत्तरदायी हुने उल्लेख गरिएको छ । त्यसैले मन्त्रिपरिषद्मा प्रधानमन्त्री सर्वेसर्वा पद हो । प्रधानमन्त्रीले जे चाहन्छन्, त्यही
लागू हुन्छ ।
त्यसैले सरकारको जस, अपजस सबै प्रधानमन्त्रीले लिने चलन छ । यदि प्रधानमन्त्रीसँग त्यस्तो मतभेद छ भने उसले मन्त्रीबाट राजीनामा दिनुपर्ने हुन्छ । एउटै मन्त्रिपरिषद्मा बसेर प्रधानमन्त्रीको विरोध गर्ने अधिकार मन्त्रीहरूलाई हुँदैन ।
त्यस्तै कुनै पनि मन्त्रीलाई कुनै पनि बखत प्रधानमन्त्रीले बर्खास्तसमेत गर्ने अधिकार छ । यसका लागि सम्बद्ध मन्त्रीलाई कुनै पनि जानकारी दिइरहनु आवश्यक छैन । यो वेस्ट मिन्स्टर प्रणालीको मर्म हो । नेपालले पनि यही शासनप्रणालीलाई स्वीकारेको छ ।
राजनीतिक आस्था जेजस्ता भए पनि संविधानले यही प्रणाली स्वीकारेको हुनाले प्रधानमन्त्री र मन्त्री सबैले यो मर्मलाई मान्नैपर्ने हुन्छ । तर, नेपालमा भने मन्त्रीलगायत राजनीतिक विश्लेषकले समेत यस्तो मर्मलाई बुझेको पाइँदैन । वास्तविकता बुझ्दै नबुझी अनावश्यक टीकाटिप्पणी गर्ने चलन छ ।
कुनै पनि मन्त्रीलाई कुनै पनि बखत प्रधानमन्त्रीले बर्खास्तसमेत गर्ने अधिकार छ । यसका लागि सम्बद्ध मन्त्रीलाई कुनै पनि जानकारी दिइरहनु आवश्यक छैन । यो वेस्ट मिन्स्टर प्रणालीको मर्म हो ।
अहिले मन्त्रिपरिषद्मा छलफल नै नभई प्रधानमन्त्रीले निर्णय माइन्युट गराएको भनी मन्त्रीहरूको असन्तुष्टि समाचारमा आएको छ । प्रधानमन्त्रीले चाहेमा त्यो निर्णय गराउन कसैले रोक्न सक्दैन । त्यसैले छलफल भएन, सम्बद्ध मन्त्रीले थाहा पाएनन् भनेर गुनासो गर्नुको अर्थ यो शासनप्रणाली नबुझ्नु हो ।
प्रधानमन्त्री आफैले यस शासनप्रणालीको मर्म कत्तिको बुझेका छन्, स्पष्ट छैन । गठबन्धनकै सरकार भए पनि प्रधानमन्त्रीविरुद्ध बोल्ने वा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले लिएको निर्णयको विरोध गर्ने अधिकार मन्त्रीलाई हुँदैन ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तत्कालीन मन्त्री मातृका यादवलाई मन्त्रिपरिषद् बैठकमै मन्त्रीबाट हट्न निर्देशन दिएको समाचार आएको थियो । त्यसैले गठबन्धन टुटे पनि प्रधानमन्त्रीले त्यो हैसियत राख्छ ।
मन्त्रिपरिषद्मा लगिने प्रस्ताव सम्बद्ध मन्त्रालयबाट अघि बढाइन्छ । तर, प्रधानमन्त्रीले नचाहेमा त्यस्ता प्रस्तावलाई सीधै खारेज गरिदिन सक्छन् । त्यसैले प्रधानमन्त्रीले छलफल नगरी माइन्युट लेख्न लगाए भनेर गुनासो गर्नुको अर्थ छैन ।